सिक्किम: सिक्किमको नामिन गाउँमा देशभक्ति संगीतकार कप्तान रामसिंह ठकुरी

WhatsApp-Image-2024-02-25-at-21.03.15.jpeg

गान्तोक: हिमाली राज्य सिक्किमले सम्झियो स्वतन्त्रता सेनानी तथा महान् देशभक्ति संगीतकार कप्तान रामसिंह ठकुरीलाई। सिक्किमको राजधानी गान्तोकदेखि झण्डै २० किलोमीटर टाडा रुम्तेक मार्तम निर्वाचन क्षेत्रको  नामिन गाउँ, पीपल डाँडामा कप्तान रामसिंह ठकुरीको पूर्णकदको सालिकमा अमर राख्ने कार्य गरिएको छ‌। भारतीय राष्ट्रीय सेना आईएनएका गोर्खा ब्रिगेडका वरिष्ठ संगीतकार कप्तान रामसिंह ठकुरीको पूर्णकदको सालिक क्षेत्र विधायक सोनाम छिरिङ भेञ्चुङ्पाको बाहुलीबाट अनावरण गरियो।

सिलगढीका मूर्तिकार उत्पल पालद्वारा निर्माण गरिएको उक्त सालिकको उच्चाई ६ फीट रहेको छ। साहित्यिक गतिविधिहरू भइरहने  नामिन गाउँले राष्ट्रिय विभूतिलाई पनि गाउँको शान र सम्मान ठानेको छ। स्वच्छ गाउँको रिटमा चिनिँदै आएको नामिन गाउँले यस अघि ऋषि वशिष्ठ, भानुभक्त र अन्यको सालिक निर्माण गरेर गाउँमा वीर र विभूति पुजन परम्पराको जग स्थापना गलिसकेका छन्। स्थानीय जनताको सक्रिय सहभागितामा र सहयोग रहेको जानकारी शालिग स्थापना समितिका संयोजक भाष्कर भट्टराईले दिएका छन्। उनले गाउँदेखि बाहिरका सहृदयी मानिसहरूले यो सालिक निर्माणमा आर्थिक र परोक्षरुपमा सहयोग पुर्याएको जानकारी दिँदै आभार प्रकट गरेका छन्। सालिक निर्माण समितिका प्रतिनिधि चक्रपाणी भट्टराईले नामिन गाउँले कप्तान रामसिंह ठकुरीको पूर्णकदको सालिकमार्फत युवा‌ पुस्तालाई इतिहास व्यक्तित्व र स्वतन्त्रता सेनानीको कथा बताएर प्रोत्साहित गर्ने पहल‌ गरेको बताए। उनले क्षेत्रमा चाँडै म्युजियम निर्माण गरेर यस्ता विभूतिको कर्महरूको बारेमा भावि सन्तानहरूले शोध र अध्ययन गर्नसक्ने सम्भावना विकास गर्ने पनि बताए।

सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै विधायक भेञ्चुङ्पाले भारतीय स्वतन्त्रता सेनानीको सम्मानमा  सालिक  स्थापना गरेर राज्य र देशवासीहरुमाझ उनको अतुलनीय योगदानको पुनः स्मरण गराएको बताए। यस महत्त कार्यका लागि सालिक स्थापना समिति प्रति आभार प्रकट गर्दै यसले साहित्यिक  गतिविधिहरू मात्र नभएर पर्यटनमा  गाउंँको विकासमा अतुलनीय सहयोग पुग्ने मन्तव्य व्यक्त गरे। विधायक भेञ्चुङ्पाले नामिन गाउँले राष्ट्रका विभूतिहरूलाई चिनाउने काम‌ गरेको छ भन्दै यस गाँउको यस्ता कार्यहरूलाई राष्ट्रले नै कदर गर्नेछ भनि विश्वास व्यक्त गरे। यस गर्विलो क्षणमा देशका धेरै व्यक्तित्वहरूले भारत रत्नले सम्मानित भए तर संगीतकार भारतीय स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीले कहिले सो सम्मान पाउनु पर्ने तर नपाए तापनि उनको योगदान भने कम नहुने भनि बताए। कति विभूतिहरूको सम्मान गाउँबाट हुने हुनाले रामसिंह ठकुरीले पनि भविष्यमा न्याय पाउने कुरामा आशावादी बनेको बताए।

यस अवसरमा साहित्यकार रूद्र पौड्यालले भीडमा कहिले विद्वजनको कदर कम हुने गरेको हुनाले संगीतका पारखी पनि ओझेलमा परेको हुन सक्ने बनाउँदै नेतृत्व दिनेहरूले त्यस्ता विद्वजनको कदर गरिदिए राज्य नै शुशोभित हुने मन्तव्य व्यक्त गरे। सालिक अनावरण कार्यक्रममा  वरिष्ठ साहित्यकार राज के श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, गान्तोक जिल्लाकी  उपाध्यक्ष देविका प्रधान, समाज कल्याण बोर्डकी अध्यक्षा गङ्गा परसाई तथा अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो भने सालिक स्थापना गर्न सक्रिय भूमिका निर्वाहन गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा कप्तान रामसिंह ठकुरीको जीवनको सबै पक्षलाई समेटेर छापिएको स्मृति पुस्तक पनि लोकार्पण गरिएको थियो। कप्तान रामसिंह ठकुरीको जीवनीबारे डा. कल्याणी शर्माले वार्ता प्रस्तुत गरेकी थिइन् भने स्थानीय कविहरूले देशभक्तिले ओतप्रोत कविता र कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए। उल्लेखनीय छ गोर्खाली जातिको स्वतन्त्रता सेनानीको सालिक निर्माणमा कप्तान रामसिंह ठकुरीको सालिक सिक्किममा पहिलो बनेको छ। यस अघि महात्मा गान्धी, सरदार वल्लभ भाई पटेल, जवाहरलाल नेहरू, सुभाष चन्द्र बोस आदिको सालिक स्थापना सरकारी रूपमा भइसकेको छ। निजी प्रयासमा पहिलो सालिक निर्माण गरिएकाले यसको महत्व र देशभक्तिको नयाँ उदाहरण बनेको छ नामिन गाउँको  प्रयास।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement