नाम्ची। आज एकदिवसीय रूरल स्पोर्ट्स मिट सम्पन्न भयो। उक्त स्पोर्टस मिट कार्यक्रम दक्षिण सिक्किमअन्तर्गत तिञ्जिर निम्न माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य अतिथि भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ अनि विशिष्ट अतिथिको रूपमा जिल्ला पञ्चायत सदस्य सुरेशकुमार राई उपस्थित थिए। कार्यक्रम बुमटार-सल्लेबुङ ग्राम पञ्चायतगणले आयोजना गरेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको प्राथामिक विद्यार्थीस्तरीय फुटबल खेलमा एकको विरूद्ध दुई गोल लगाएर तिञ्जिर जेएचएसले बुमटार पीएसलाई पराजित गरेर फाइनलमा प्रवेश गऱ्यो। त्यसरी नै दोस्रो खेल सेनतेरेजा पीएस र सल्लेबुङ जेएचएसमाँझ भएको थियो। यस खेलमा शून्यको विरूद्ध चार गोल लगाएर सल्लेबुङ जेएचएस फाइनलमा प्रवेश भयो। फाइनल खेल एक-एकको बराबरीमा समाप्त भएपछि टाइब्रेकरमा सल्लेबुङ जेएचएसले तिञ्जिर जेएचएसलाई पराजित गऱ्यो। आजको फुटबल खेलमा सल्लेबुङ जेएचएसका नोयल कामी असल खेलाडी घोषित गरियो।
सम्बोधनको क्रममा अध्यक्ष टाँसी दोर्जे तामाङले यस प्रकारको कार्यक्रमको आयोजना गरेकोमा आयोजक पक्षलाई धन्यवाद दिए। नानीहरूको चौतर्फी विकासको दायित्व शिक्षक-शिक्षिकागणको मात्र नभएर अभिभावकगणको पनि रहेको उल्लेख गर्दै तिञ्जिर जेएचएसका प्रधान अध्यापकले राखेका मागहरू विभाग र सरकारसमक्ष पुऱ्याउने वचन दिए। विद्यार्थी नानीहरूको ध्यान आकर्षित गर्दै खेललाई मनोरञ्जनको रूपमा मात्र नलिएर खेलद्वारा आफ्नो भविष्य उज्जवल बनाउनतर्फ लाग्नु पर्ने कुरामा बल दिए। उनले प्रतिभाको क्षमतालाई विकास गर्न सरकारले विभिन्न पहल गरिरहेको जानकारी गराए।
कार्यक्रमको औचित्यमाथि विषय प्रकाश पार्दै पञ्चायत सभापति प्रेमशीला राईले यो रूरल मिट २०२०-२१ को ग्राम पञ्चायत विकास योजनाबाट आयोजना गरेको बताइन्। कार्यक्रममा तिञ्जिर निम्न माध्यामिक स्कूलका प्रधान अध्यापक तिलक छेत्रीले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा बेलुन फुटाउने खेल पनि खेलाइएको थियो। कार्यक्रममा विद्यार्थीवर्गले साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन पञ्चायत कर्मचारी सुजता राईले गरेकी थिइन् भने स्वागत भाषण पञ्चायत सदस्य इनोस राई र धन्यवाद ज्ञापन पञ्चायत सदस्य सञ्चमान लिम्बूले दिएका थिए। यस अवसरमा खेल एवं युवा मामिला विभागका पीटीआई सोभा गरूङ, बुमटार-सल्लेबुङ जीपीयूका पाँचवटा सरकारी र निजी स्कूलका प्रधान अध्यापकगण, शिक्षक-शिक्षिकागण आदिको उपस्थिति रहेको थियो।