देउडा गायिका रोशनीको संघर्षको कथा

Photo-7

काठमाडौं: बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी लोक देउडा गायिका रोशनी रोकाया सानै उमेरदेखि गीत गाउन रुचि राख्थिन्। रोकायाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको मात्रै दशक बित्न थाल्यो। विद्यार्थी उमेरमा पनि विद्यालयमा र गाउँमा आयोजना हुने कार्यक्रममा उनी गीत गाउने गर्थिन्। गीतमात्रै गाउने चाहना थिएन उनको व्यवसायिक गायिका नै बन्ने धोको थियो। तर चाहना पूरा गर्ने कुरामा आफ्नो अगाडि बाध्यताको पर्खाल जहिले उभिएर आउथ्यो। उनले विगत स्मरण गर्दै सुनाइन्, ‘गीत गाउने चाहना थियो, गाउँमा आयोजना हुने कार्यक्रममा गाउने गर्थे, प्रायः त्यो बेला लाइभ देउडा बढी खेलिन्थ्यो, अहिलेको जस्तो बजारको गीत गाउने भन्दापनि राम जात्रा (मेला)मा लाइभ देउडा खेल्ने गर्थे।’

लाइभ देउडाबाट गाउँमै हुँदा पहिचान बनाइसकेकी रोकायाको आवाज पनि सानैमा सुनौंसुनौं लाग्ने थियो। उनको आवाज सुन्नेहरुले रोशनी तिमी गायिका बन्छौँ भनेर भन्थे। उसो त रोशनीको चाहना पनि यहीँ थियो।

उनी भन्छिन्, ‘चाहनाले मात्रै नपुग्दो रहेछ,’ उनले आफ्नो संघर्षबारे भनिन्, ‘धेरै दुःख गर्नुपर्यो। सोचेजस्तो सजिलो छैन कलाकार बन्ने कुरा। गाउँमा हुँदा त कलाकार बन्दा राम्रै हुन्छ भन्ने लाग्थ्यो तर अहिले कति दुःख हुने रहेछ भनेर भोग्दैछु। कलाकारिता क्षेत्रमा कति दुःख हुन्छ सुनाएर फाइदा नै छैन्। तर मलाई लाग्छ संघर्ष नै जीवन हो, त्यसकारण संघर्ष निरन्तर गरिरहेकी छु, एकदिन सफल हुन्छु भन्ने विश्वास छ।’ रोकायाको बाल्यकाल भने निकै दुःखद बित्यो। उनका एक दाई र एक बहिनी छन्। चार कक्षामा पढ्दैगर्दा उनले बुवा गुमाइन्। बुवा मात्रै गुमाइनन् सवथोक गुमाइन्।

परिवारको खुसी लुटियो, तीनवटै भाईबहिनीको भविष्य उजाडजस्तै बन्यो। सानैमा बुवा गुमाएकी उनी बुवाको माया ममताबाट मात्रै बन्चित भइनन् उज्वल भविष्यको सपना समेत गुमाइन्। बुवाको मृत्युपछि सिंगो परिवारको जिम्मेवारी आमाको काँधमा आयो। बुवाको मृत्युपछि उनको परिवारमा पारिवारिक संकट छायो। त्यसपछि रोशनीले सुखको अनुभुती समेत गर्न पाइनन्। दुःखका दिन शुरु भए। समय बित्दै गयो बुवाको माया र साथबाट बन्चित हुनुपरेपनि आमाको अनुहारमा चित्त बुझाउन्थे रोशनीका तीनभाई बहिनी। तर बुवाको मृत्यु भएको झण्डै चार वर्षपछि आमाले समेत अर्कैसँग बिवाह गरिन्। शुरुमा बुवा गुमाएका उनीहरुले आमाहरु त छन् नी भनेर चित्त बुझाएका थिए तर अन्ततः आमाले नै छोडेर गएपछि थप पारिवारिक संकट छायो। आमाबुवा दुवैको मायाबाट तीन भाइबहिनी बन्चित भए। एउटा सन्तानका लागि यो भन्दा अर्को ठूलो बज्रपात अरु केही हुन सक्दैन्।

उनको विगत निकै दुःखद छ, विगतमा उनको परिवारले झेलेको पारिवारिक सन्नाटा हेर्दा जसको पनि मन पोल्छ होला। आमाबुवाको मायाबाट मात्रै बन्चित हुनु परेन खेतीपातीकै भरमा दिन गुजार्न समेत मुस्किल भयो। कमाउने कोही थिएनन्। त्यसपछि उनका दाईको काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी थपियो। दाइलाई रोशनीले पनि सघाउन थालिन्। दुई दाई बहिनी मिलेर छाक टार्न थाले। रोशनीले कक्षा १० सम्म गाउँकै विद्यालयमा पढिन्। त्यसपछि १० कक्षा उत्तिर्ण भएपछि सदरमुकाम थप अध्ययनका लागि आइन्। उनी मार्तडीमा रहेको मालिक नमुना माविमा भर्ना भइन्। त्यहीँबाट कक्षा ११÷१२ कक्षा उतिर्ण गरिन् । त्यसपछि भने उनको पारिवारिक स्थितिले पढ्न सक्ने अवस्था थिएन। दाई एक्लैको कमाइले परिवारको खर्च धान्न र सबैको पढाई गर्न सम्भव थिएन। त्यसकारण पढाइलाई त्यहीँ बिट मार्ने निर्णय गरिन्। उनले आफ्नो पढाइलाई अगाडि बढाउन सकिनन्। उनको सानैदेखिको कलाकार बन्ने धोको थियो। सदरमुकाममा पढ्दैगर्दा कलाकारहरुसँग चिनजान गर्ने अवसर पाइन्। सदरमुकाममा आफ्नो आफन्तसँग बसेर पढिन्। लाइभ देउडा खेलेरै पहिचान बनाइसकेकी रोकाया सदरमुकाममा हुँदा जिल्लामा हुने महोत्सव, सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थिन्। उनलाई अग्रज कलाकारहरुले पनि माया नै गर्थे। धेरै कलाकारहरु त उनको आवाजबाट नै प्रभावित भएर सहयोग गर्थे।

एकातिर उनको आफ्नै कलाकार भन्ने सपना थियो अर्कोतिर स्वर्गीय बुवाले पनि उनलाई गायिका बनाउने चाहना थियो। पारिवारिक जिम्मेवारीले थिचिएकी रोकाया आफ्नो सपना मार्न सक्थिन्, तर उनका बुवाको कलाकार बनाउने धोको पूरा गर्नकै लागि भएपनी गायन क्षेत्र नछाड्ने निधो रोकायाले गरिन्। उनलाई जतिसुकै संघर्ष र दुःख गरेर भए पनि बुवाको सपना पूरा गरेरै छाड्ने हुटहुटीले छाडेन। एकातिर बाध्यता र परिस्थितिले  घेरिरहेकै थियो। अझ उनको साथबाट दुःखकष्ट र अभावहरु कहिले टाढा भएनन्। बरु हाँसो खुशी कहिले नजिक आएन। तर रोकाया पीडा लुकाएर खुशी हुन बाध्य छन्।

रोकायालाई ‘मुटुमाथि ढुङ्गा राखी हास्नु परेको छ’ भने झैं हुन्छ उनी विगततिर फर्किनै चाहनन्। विगत सम्झिंदा उनलाई आफैलाई समाल्न सक्दिनन्। त्यसपछि उनी करिब तीन वर्षको सदरमुकाम मार्तडीको बसाईलाई बिट मार्दै संघीय राजधानी आइन्। उनले शुरुमा काठमाडौंमा धेरै संघर्ष गरिन्। सकेजति दाईले सहयोग गरिरहेका थिए। तर अन्ततः उनले काठमाडौंमा काम गर्न थालिन् अहिले पनि उनी दोहोरी साँझमा नै काम गर्छन्। झन्डै एक दशक कलाकारिता क्षेत्रमै बिताइसकेकी रोकायाले कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै औपचारिक रुपमा कलाकारिता क्षेत्र प्रारम्भ गरिन्। उनको कलाकारिता क्षेत्रको पहिलो गीत थियो–‘उज्गलो वन भयो खेत रोपी पहिराले लियो, कस्तो मन भयो मेरा प्यारा परदेशीको’ नामक देउडा गीतबाट उनले आफ्नो कलाकारितालाई अगाडि बढाएकी थिइन्। उनलाई गाउँमा गायिका भनेर त पहिले नै चिन्थे, तर बजारमा पहिलो रेकर्ड भएको गीत भने त्यहीँ उज्गलो बन भयो थियो। जुन गीतको शब्द संगीत गायक मोडेल तथा निर्देशक राजेन्द्र रावतले गरेका थिए। पहिलो गीत गाउने अवसर नै रावतले दिएको उनले बताइन्।

यति मात्र होइन उनले रावतकै शब्द संगीत गरेका थुप्रै गीतहरूमा आवाज दिएकी छन्। रावतले आफुलाई धेरै सहयोग गरेको र उनकै गीतबाट गीत गाउने अवसर पाएको उनको भनाइ छ।

रमाइलो रानीवन, जोगी छैन कुटीलगायतका दर्जनौं गीतहरूमा आवाज दिइसकेकी छन्। आवाज मनछुने भएकै कारण उनले गीतमा लगानी गर्नुपर्ने अवस्था आएन। उनले अरुकै गीतहरू गाएकी छन्। एउटा गीतमा मात्रै आफुले अहिलेसम्म लगानी गरेर गाएको उनले बताइन्। जुन गीत उनले आफ्नो बुवाको सम्झनामा गाएकी छन्। लोक देउडा गायिका भनेर चिनिने रोशनी अन्य बिधाका गीतहरू पनि गाउँछिन्। उनले पछिल्लो समयमा नाम चलेका कलाकारहरुसँगको सहकार्यमा गीत गाउने अवसर समेत पाएकी छन्। चर्चित लोक दोहोरी गायक नेत्र भण्डारीसँग उनले ‘पिरको भारी आँसुको राराताल, हेरेर जाउ एकचोटि मेरो हाल’ बोलको लोकदोहोरी गीत गाएकी छन् । जुन गीत बजारमा आउन बाँकी छ। उनी दोहोरी पनि गाउछिन्। अहिले दोहोरो साँझमा काम गरेर नै काठमाडौंको बसाई धानिरहेकी बहिनीलाई समेत सँगै राखेर पढाईरहकी छन्।

उनको काँधमा अभिभावकीय जिम्मेवारी छ, जुन उनले निर्वाह गरिरहेकी छन्। बुवाको मृत्युपछि आमाले पनि अर्को बिवाह गरेपछि पारिवारिक जिम्मेवारीले पिल्सिएकी रोकाया विगत सम्झदै भन्छिन्, ‘दुःख के हो सबै भोगियो, अहिले पनि दुःख नै छ, तर म खुसी पनि छु, किनकी मैंले एउटा अभिभावकको भूमिका निर्वाह गरिरहेकी छु, बहिनीलाई आफ्नै खर्चले पढाएकी छु। म विगततिर फर्कनै चाहन्न, विगत सम्झियो भने आँखाबाट आँसु बाहेक केही आउँदैन, आफुलाई समाल्न नै गाह्रो हुन्छ। अभाव, गरिबी, दुःख, संघर्षको पाठ सबै परिस्थितिले सिकायो। परिस्थितिलाई आत्मसात गर्दै बाध्यताका पर्खालहरु भत्काउँदै धेरै संघर्ष गरेर भए पनि गीत गाउने सपना भने पूरा गरियो।’

रोकायालाई बुवाको मृत्युपछि परिवारमा छाएको संकटले गर्दा गीत गाउने सपना अब पूरा हुन्न जस्तो लाग्यो। गायिका बन्ने आफ्नो बाल्यकालदेखिको धोको, अनि गाउँ समाजले पनि गायिका बन्छन् भनेर हेर्ने भएकाले पनि रोशनीलाई गायिका बन्नु थियो। त्यसकारण पनि रोकायाले हिम्मत हारिनन्। कडा मिहिनेत, दुःख र संघर्षले माथि उठेकी रोकाया अहिले गीत गाएरै आफ्नी बाहिनी र दाइको छोरालाई काठमाडौंमा पढाउँछिन्। पहिला जस्तो खान लाउनकै अभाव उनलाई छैन्। गायिका रोकाया भन्छिन्,‘मलाई भाइरल भएन भन्ने कुरामा कुनै चिन्ता छैन। म दर्शकहरुमा नमर्नेगरी नमेटिनेगरि स्थापित हुने प्रयत्न गर्दैछु। एक दुई दिन भाइरल बनेर परालको आगो निभेजस्तो भुसुक्कै निभ्नु छैन्। अर्थात हराउनु छैन्। सँधै कलाकार भएरै बाँच्ने धोको छ, काठमाडौं जस्तो सपनाको सहरमा मैंले बहिनीलाई दाइको छोरालाई पढाउनु र खर्च चलाउनु नै मेरो सफलता हो।  धेरै पैसा कमाउनु भन्दा पनि आफु स्थापित हुन चाहन्छु।’(मिन बहादुर खड्कानेपाल न्यूज ब्यांक)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *