कासगञ्ज: उत्तर प्रदेशको कासगञ्ज जिल्लाको कोतवाली पटियाली क्षेत्रको दरियाबगञ्ज नजिकैको गढई गाउँमा श्रद्धालुहरूले भरिएको ट्रयाक्टर नियन्त्रण बाहिर गएर सडकको किनारमा रहेको पोखरीमा पल्टिएको छ। कासगञ्जका सीएमओले दुर्घटनामा २२ जनाको मृत्यु भएको बताए। पाँच जना अस्पतालमा भर्ना छन् भने दुई जनालाई घर पठाइएको छ। ट्रयाक्टर ट्रलीमा सवार सबै भक्तजन माघ पूर्णिमामा गंगा स्नान गर्न जाँदै थिए। मृत्यु हुनेमा बालबालिका, महिला र पुरुष समेत रहेका छन्। ट्याक्टर-ट्रली पल्टिएपछि घटनास्थलमा होहल्ला मच्चियो। दुर्घटनाको जानकारी पाएलगत्तै पुलिस प्रशासनका उच्च अधिकारी पनि घटनास्थल पुगे। मृतक सबै एटा जिल्लाको जैथारा क्षेत्रका रहेको बताइएको छ। मुख्यमन्त्री योगी आदित्यनाथले कासगञ्जमा भएको सडक दुर्घटनाको जानकारी लिएका छन्। उनले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्। मुख्यमन्त्री योगीले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई दुई दुई लाख र गम्भीर घाइतेलाई ५०-५० हजार रुपियाँ दिने निर्देशन दिएका छ । यसका साथै मुख्यमन्त्रीले घाइतेहरु सबैको उचित नि:शुल्क उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। कासगञ्जमा भएको दुर्घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले क्याबिनेट मन्त्री लक्ष्मीनारायण चौधरी र राज्यमन्त्री अनुप प्रधान वाल्मिकीलाई तत्काल घटनास्थलमा पुग्न, राहत कार्यलाई तीब्रता दिन र पीडितको उचित उपचारका लागि आवश्यक सबै व्यवस्था गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्रीले जिल्ला प्रशासन कार्यालयका अधिकारीलाई घटनास्थलमा पुगेर राहत कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन्। अलिगढ रेन्जका आईजी शलभ माथुरले शनिबार कासगञ्ज ट्र्याक्टर ट्रली दुर्घटनाको जानकारी दिए।