राँची: भारतीय पेस बलर आकाश दीपले ईंग्ल्याण्ड विरुद्ध टेस्ट पदार्पणमै असाधारण प्रदर्शन गर्दै म्याचको पहिलो दिन नै ३ विकेट हासिल गरे। उनले यस असाधारण प्रदर्शनलाई आफ्नो दिवांगत पितालाई समर्पित गरे, जसको २०१५-मा निधन भएको थियो। अहिले जीवनमा केही गरेर देखाउने पिताको सपना पूरा गरेर उनी खुशी छन्। आकाश दीपका पिता रामजीत सिंहको प्यारालाइसिसपछि निधन भएको थियो। पिताको निधन भएको ६ महिनाभित्र आकाश दीपले आफ्नो दाजुलाई पनि गुमाएका थिए। ईंग्ल्याण्ड विरुद्ध राँचीमा जारी चौथो टेस्ट म्याचको पहिलो दिन खेल समाप्त भएपछि आकाश दीपले भने, एक सालभित्र आफ्नो पिता र दाजुलाई गुमाएपछि म केही हासिल गर्न चाहन्थे। यसैकारण मैले कठोर मेहनतको साथ क्रिकेट खेल्न शुरु गरे। मसँग गुमाउने केही थिएन अनि हासिल गर्नको निम्ति चाहिँ धेरै कुराहरू थियो। आकाश दीपले पदार्पण टेस्टमै असाधारण प्रदर्शन गर्दै विपक्षी टीमको शीर्ष ३ ब्याटरलाई आउट गरे।

आकाशदीपले भने, म यस प्रदर्शनलाई आफ्नो पितालाई समर्पित गर्न चाहन्छु कारण छोराले जीवनमा केही खास गरोस् भन्ने उनको सपना थियो। उनी जीवित रहँदासम्म त मैले केही गर्न सकिनँ। यसैकारण यो प्रदर्शन मेरो पिताको निम्ति हो। हरेक क्रिकेटरको एक दिन भारतको निम्ति टेस्ट म्याच खेल्ने सपना हुन्छ। मेरो पनि त्यही सपना थियो। मैले २००७ पछि टेनिस बलको साथ क्रिकेट खेल्न शुरु गरेको थिएँ अनि २०१६ पछि मात्र असल क्रिकेटबारे थाहा लागेको थियो। त्यस समयदेखि मोहम्मद शमी र दक्षिण अफ्रिकाका कगिसो रबाडाको अनुकरण गर्छु। उनले अझ भने, मलाई टेस्ट पदार्पण क्याप मेरो गाउँ अनि जुन टीमबाट खेल्छु (बंगाल) त्यसको नजिकको स्थानमा प्राप्त भयो। बंगालले मलाई भरपूर समर्थन गऱ्यो। मेरो यस यात्रामा मेरो परिवारले ठूलो भूमिका निर्वाह गऱ्यो।

आज उनीहरू सबै मलाई समर्थन गर्न मैदानमा आएका छन्। यो मेरो निम्ति भावनात्मक क्षण हो तर अहिले मेरो मनमा केवल टीमको निम्ति असल प्रदर्शन गर्ने सोच रहेको छ।