एक महिलाले आफ्नो साथीसँग मिलेर आफूले कैयौं वर्षदेखि काम गरिरहेको ब्यांक लुटिन्। उनले ब्यांकबाट करिब १ अर्ब १४ करोड रुपियाँ चोरेर पैसा राख्ने सेफमा कागजका टुक्राहरुले भरिदिइन्। यो घटनापछि महिला निजी जेटमा विदेश भागेकी थिइन्। तर, घटनाको चार वर्षपछि अभियुक्त महिलालाई स्वदेश फर्काइएको छ। मुद्दा रुसको हो।
‘डेली स्टार’को रिपोर्टका अनुसार इनेसा ब्रान्डनबर्गले ब्यांकमा मात्र काम गरेकी थिइनन्, उनी सो ब्यांककी मालिक पनि थिइन्। उनका साझेदार पनि सोही ब्यांकको सञ्चालक समितिमा थिए। अर्थात् दुवै ब्यांकका उच्च अधिकारी भएकोले सुरुमा कसैले शंका गरेनन्। सन् २०१८ मा इनेसाले ट्युमेनमा रहेको साइबेरियन ब्यांक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टको भल्टबाट करिब ५६१ मिलियन रूबल चोरेकी थिइन्। जब उनको हातको सफाइको पर्दाफास भयो, उनी निजी जेटबाट देश छाडेकी थिइन्। तर, चार वर्षपछि स्पेनबाट पक्रा परेपछि उनलाई फेरि रुसमा ट्रायलका लागि ल्याइएको छ। ब्यांकका क्लर्कले भल्टमा पैसाको सट्टा कागजका टुक्रा भरेको देखेपछि लुटपाटको यो घटना बाहिर आएको हो। पुलिसको अनुसन्धानपछि ईनेसाले कागज साटेर पैसा झोलामा भरेर भागेको पाइएको थियो। विगत चार वर्षदेखि उनको खोजी भइरहेको थियो।
यस डकैतीमा इनेसा एक्लै थिइनन्। यसमा उनीसँगै सोही ब्यांकका सह-मालिक तथा बोर्ड अध्यक्ष रोम्याता पनि संलग्न थिए। यस प्रकरणमा यसअघि नै तीनजनालाई पक्राउ गरी जेल चलान गरिएको छ। घटनाको चार वर्षपछि इनेसालाई अहिले ट्रायलका लागि रुसमा ल्याइएको छ। उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। रोम्यातालाई अपराधको मुख्य योजनाकार भनिएको छ। उनले नगद पहुँच गर्न ब्यांकको सञ्चालक समितिको उपाध्यक्षमा इनेसालाई नियुक्त गरेको आरोप छ। क्यासमा पहुँच प्राप्त गर्न इनेसाले आफ्नो आधिकारिक स्थितिको फाइदा पनि उठाइन्।










