गान्तोक: सत्तारूढ एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले एसडीएफ अध्यक्ष पवन चामलिङलाई सिक्किम दार्जीलिङ विलयसॅंग जोडेर दिएको बयानप्रति एसडीएफ पार्टीले कडा प्रतिक्रिया जनाएको छ।
एसडीएफले प्रवक्ता खालिङलाई एक जिम्मेवार व्यक्तिको हैसियतमा जिम्मेवारीपूर्वक बयानबाजी गर्न सुझाउ पनि दिएको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, एसकेएम पार्टीले सत्तामा आएपछि विभिन्न सिक्किमेघाती केन्द्रिय कानुनहरूको विस्तार गरेको छ। नागरिक संसोधन ऐनलाई लिएर आफ्नै पार्टीको सांसद इन्द्रहाङ सुब्बासित उनीहरूको मतभेद रहेको जगजाहेर छ। पुराना व्यापारीहरूको मुद्दापछि संसोधित वित्तीय ऐनले सिक्किमे अस्तीत्व र चिनारीलाई तरलीकरण गर्दा पनि केवल एउटा कमिटीको ढोङ रचेर सरकारको मियाद सकिन लाग्दासम्म पनि एक सुत त्यसमाथि काम गरेको छैन।
जन्म-मृत्यु पञ्जीकरण ऐन लागुभएपछि सिक्किमेहरूको भविष्यमाथि सङ्कटको जुन बादल छाएको छ त्यसलाई हटाउन एसकेएम सरकारले केही काम नगरेको एसडीएफको आरोप छ। यस्तो अवस्थामा खालिङले चामलिङतिर फर्केर आफ्नो गलतीहरू छोप्ने जुन प्रकारका वक्तव्यहरू दिइरहेछन् त्यसको एसडीएफ पार्टी घोर निन्दा गर्दछ भनी विज्ञप्तिमा बताइएको छ।









