सोनादा: मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रको पूर्व मूल सचिव तथा निवर्तमान उपाध्यक्ष एवम् प्रमुख सल्लाहकार, जलपाईगढी जिल्लापाल कार्यालयका पूर्व बडाबाबु जलपाईगढी निवासी अमरनाथ महातोको गत ८ फरवरीको दिन ह्र्दयघातको कारणले आकस्मिक निधन भएको थियो। हिन्दू विधि विधान अनुसार उनको अन्तिम संस्कार र अन्त्येष्टि कार्य सकिएपछि जलपाईगढीस्थित उनकै घरमा श्रद्धाञ्जली सत्संग कार्यक्रमको आयोजना गरिएको थियो। आफ्ना जीवनकालमा अमरनाथ महातोले मानव उत्थान सेवा समितिको सांगठनिक सुदृढीकरण र आत्मा ज्ञानको प्रचार- प्रसारमा उनले दिएको उल्लेखनीय योगदानको स्मरण र मूल्याङ्कन गर्नार्थ समितिकी उत्तर पूर्वाञ्चल क्षेत्रकी अध्यक्षा महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सत्संग कार्यक्रममा डुवर्स मण्डलका विभिन्न तहसीलहरूबाट तहसील प्रभारी सन्तमहात्मा बाईजीहरू उपस्थित थिए जसमध्ये महात्मा अम्बे बाईजी, महात्ममा देविका बाईजी महात्मा सुरभी बाईजी, महात्मा निर्मोही बाईजी, महात्मा सुलोचना बाईजी, महात्मा प्रभा बाईजी, महात्मा मुकुन्द बाईजी लगायत समितिका प्रचार- प्रसार विभागका अध्यक्ष माधव बुढाथोकी, सचिव मेघनाथ छेत्री, मानव सेवा दलका प्रान्तपाल भीमप्रकाश राई, बाल सभाका केन्द्रीय संयोजक लक्ष्मण राई, समितिका उपाध्यक्ष गौतम नाग, मानव सेवा दल डुवर्स मण्डल प्रमुख नवदीप लामा, उप प्रान्तपाल बाबुल मिजार, समितिका उत्तर पूर्वाञ्चल क्षेत्रका सह सचिव कमल शिवा, लगायत डुवर्स मण्डल अन्तर्गतका सम्पूर्ण तहसीलका तहसील सचिव र अन्य कार्यकर्ता लगायत प्रेमी सज्जनवृन्द धेरै संख्यामा उपस्थित थिए। श्रद्धाञ्जली सत्संग समारोहलाई महात्मा अदिना बाईजी, महात्मा अम्बे बाईजी, महात्मा देविका बाईजी, महात्मा मुकुन्द बाईजी, महात्मा सुरभी बाईजी, कमल शिवा, मेघनाथ छेत्री आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले स्व.अमरनाथ महातोका गुणहरुको चर्चा गर्दै उनी अति मृदुभाषी, शान्त स्वभावका व्यक्ति रहेको चर्चा गर्दै सन् १९७० को दशकमा आत्माज्ञान ग्रहण गरेपछि ज्ञानप्रति उनको अटल विश्वास अनि मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजप्रति उनको अगाध श्रद्धा रहेको थियो। मानव उत्थान सेवा समिति जलपाईगढी तहसीलको मात्र नभएर उनी उत्तर पूर्वाञ्चल क्षेत्रकै एक सशक्त स्तम्भ रहेको अनि विगतमा समितिको उत्तर पूर्वाञ्चल क्षेत्रको मूल सचिव जस्ता ओहोदामा अनि मृत्युपर्यान्त समितिको उपाध्यक्ष र सल्लाहकार समितिको एक सक्रिय सदस्य साथै सदभावना सम्मेलनको परमिशन विभागको प्रभारी, प्रेस एण्ड मिडिया विभागको प्रमुख सल्लाहकार अनि विभिन्न समयमा शाखा आश्रम विभागको प्रभारीको रूपमा रहेर निष्ठापूर्वक सेवा पुर्याएका कुराहरूको स्मरण र मूल्याङ्कन गरेका थिए। उनका कार्यहरू सदैव स्मरणीय रहेर सबैको लागि प्रेरणाको स्रोत भएर रहनेछन्। जलपाईगढी शाखाका नरहरि छेत्रीद्वारा सञ्चालित उक्त श्रद्धाञ्जली सत्संग समारोहमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्रीय समिति, प्रेस एण्ड मिडिया विभाग, जलपाईगढी तहसील , बाग्राकोट तहसील, माल मटेली तहसीलको तर्फबाट दिवङ्गत अमर महातोका शोकित परिवारलाई शोक समवेदना पत्र प्रदान गरेका थिए। अमरनाथ महातोले आफूपछि आफ्नी पत्नी, एक सुपुत्र र एक सुपुत्रीलाई छाडी गएका छन्। केही भजन कलाकारहरूले भक्ति, वैराग्यमा आधारित भजनहरू प्रस्तुत गरेका थिए।