खरसाङ: बंगाल साथै पहाड़मा पनि कंग्रेस पार्टी र तृणमूल कंग्रेसमाझ एलायन्सको लागि उच्च स्तरमा चर्चा भईरहेको र यदि एलायन्स भए दार्जीलिङ संसदीय सीट कंग्रेसले पाउने अनि एलायन्स नभएको खण्डमा पनि दार्जीलिङ संसदीय क्षेत्रमा कंग्रेसले उम्मेद्वार दिने कुरा आज खरसाङमा कंग्रेस नेता बिनय तामाङले बताएका छन्।खरसाङमा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिन्दै बिनय तामाङले कंग्रेस र तृणमूल एलायन्स भयो भने राम्रो हुने कारण भाजपाको विरोधी दलहरू एक भएको राम्रो हो अनि अहिलेसम्म सबै पार्टीहरू एक गठबन्धनमा रहेर चुनाव लड्ने कुरामा चर्चा भईरहेको बताएका छन्। उनले तृणमूल कंग्रेसबाट राम्रो शुभ संकेत आएपछि यो गठबन्धन विषयमा उच्च स्तरमा कुराकानी भईरहेको बताउँदै हिजो पनि भर्चुवल माध्यममा सभा हुँदा आफुले दार्जीलिङ पहाड़ र डुवर्सको विषयमा आफ्नो टेक राखेको बताएका छन्। बिनय तामाङले कंग्रेसबाट टिकट पाउने विषयमा सोधिएको प्रश्नको उत्तरमा टिकटको आशा त नगरेको तर पार्टीको संविधान, आचार संहिता र अनुशासनमा रहेर बस्नुपर्छ अनि पार्टीको उच्च स्तरबाट मलाई दार्जीलिङ संसदीय क्षेत्रका जनताको सेवा गर्नुपर्छ टिकट दिएको खण्डमा स्वीकार्य हुने अनि जनताको लागि काम गर्न पनि तयार रहेको बताएका छन्। उनले यस विषयमा धेरै सूत्रहरूबाट प्रबल सम्भावना रहेको पनि बताएका छन्। बिनय तामाङले कंग्रेस पार्टीमा गएको विषयमा बोल्दै भने, दार्जीलिङ संसदीय सीटमा पहिलादेखि नै कंग्रेसले जित्दै आएको हो र २००९ देखि गोर्खाल्याण्डक लागि भनेर नै भाजपालाई जिताएको हो। तर १५ वर्षमा पनि भाजपाले गोर्खाहरूलाई केही नदिएपछि जनता रूष्ट बनेका छन्। त्यसै पनि कंग्रेसको पालोमा नै दागोपाप पाएको, नेपाली भाषाले मान्यता पाएको, नागरिक पाएको र जीटीए पनि बनिएकोले अहिले जनताको आशा र भरोसा कंग्रेसप्रति रहेकोले आफु पनि जनताको लागि कंग्रेसमा छु।”
बिनय तामाङले यसपाली २०२४ को संसदीय चुनावमा भावनामा बहेर होइन तर आफ्नो बौध्दिकतालाई प्रयोग गरेर भोट गर्ने पनि निवेदन गरेका छन्।