खरसाङ: खरसाङको १८ नम्बर वार्डस्थित भानु वेलफेयर संस्थाको आयोजनामा स्थानीय हरिप्रसाद शर्माको बासस्थान परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य शिविरलाई भानु वेलफेयर संस्थाले सञ्चालन गरेका थिए भने डा. अनुप कुमार बारुईको देखरेखमा बिरामीको जाँच सम्पन्न गरिएको छ।
स्वास्थ्य शिविर जाँच विषय संस्थाका सचिव अमृता छेत्रीले जानकारी दिँदै हाम्रो वार्डमा धेरै वृद्ध अवस्थाका व्यक्तिहरू छन् जो साधारण विरामी हुँदा डाक्टर कहाँ जाँदैनन्। फेरि अहिले कोविडको संक्रमण पनि बढेको छ। त्यसैले हामीले स्थानीय वार्डको बिरामीलाई सेवा पुर्याउनु निशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेका हौं भनी बताएका छन्।

भानु वेलफेयर संस्था सन् २०१९ मा कोविडको पहिलो लहर समय वृद्ध मानिसलाई स्वास्थ्य सेवा पुर्याउन स्थापना गरिएको संस्था हो। संस्थाकी अध्यक्ष शशि थापा आले भन्छिन् -“कोविडको समयमा पनि हामीले यस्तै शिविर राखेर वार्डवासीलाई सेवा पुर्याएका थियौं। हाम्रो संस्था २५ जना महिला सदस्यहरूले गठन भएको छ। यो स्वास्थ्य जाँच शिविर पूर्ण रूपले नि:शुल्क रहेको अनि संस्थाका सदस्यहरुको सहयोगले नै शिविर आयोजना भएको हो भन्दै संस्थाका कोषाध्यक्षा सरोज चौहान भन्छिन्, ” हामीले यो शिविर आयोजन गर्नमा धेरै मानिसको सहायता पाएका छौं। खरसाङ महकुमा अस्पतालका डा रुबी मण्डल (एसडिएमओ), डा. सोमा मण्डल अनि डा मनोज गिरीले हामीलाई अस्पताल अनि निजी स्तरबाट स्वास्थ शिविरको निम्ति औषधी उपलब्ध गराएका छन्। पीबी रोडस्थित होटल बसेराका संगीता प्रधान, १८ नम्बर वार्डको समाजले शिविरको निम्ति चौकीको ब्यवस्था गरिदिएको र हरिप्रसाद शर्माले शिविरको निम्ति आफ्नो स्थान उपलब्ध गराई दिएको अनि त्यसरी नै दिवस छेत्रीले जाँचको निम्ति ग्लुको मिटर उपलब्ध गराएकोमा आभार प्रकट गरेकी छन्।

संस्थाले जानकारी दिए अनुसार शिविरमा १०३ जना बिरामीहरूको स्वास्थ्य जाँच गराएका छन् अनि उनीहरूलाई नि:शुल्क औषधी वितरण गरिएको छ।










