बुढासुब्बा गोल्डकपको २४औँ संस्करण १६ मार्च (फागुन २६) देखि

budha-subba-Photo

विराटनगर (नेपाल): प्रतिष्ठित फूटटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण ९ मार्चदेखि १६ मार्च (फागुन २६ देखि चैत ३ गते)सम्म संचालन हुने भएको छ। धरान फूटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा गोल्डकप आईएमई ब्यांक र क्वालिटी नुडल्सलगायतको प्रयोजनमा हुने जानकारी दिए। यसपालि उपाधि विजेता टिमलाई दिइने १० लाख रुपियाँ पुरस्कार धरान–हङकङ मञ्चलगायत हङकङमा रहेका नेपाली संघ संस्थाहरूले प्रयोजन गर्ने जनाइएको छ। यसैगरी, इंग्ल्याण्डस्थित धरान–युके समाजले उपविजेतालाई दिइने पाँच लाख रुपियाँ पुरस्कारको प्रायोजन गर्ने भएको छ। धरान–युके हेल्पिङ हेण्डसले चार लाख रुपियाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट तीन लाख रुपियाँ सहयोग हुने क्लबले जनाएको छ।

यस्तै, धरान उपमहानगरपालिकाले नौ लाख रुपियाँ, प्रायोजक आइएमईले पाँच लाख, कोशी प्रदेश खेलकुद विकास बोर्डले पाँच लाख, क्वालिटी नुडल्सको दुई लाख प्रयोजन रहने छ। प्रतियोगितामा ६६ लाख ५५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फूटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फूटबल ट्रेनिङ सेन्टर, जिल्ला फूटबल संघ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने अध्यक्ष तामाङले बताए। प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद एक लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छन्। उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ। सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement