हामीले खेतीपाती गर्नु जाँगर हराएका छौं: अनित थापा
सिलगढी: हाइल्याण्ड हिल्स एफपीसी (SFAC) राङभाङ सुकेपोखरी अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको संयुक्त आयोजनामा पहाडमा कृषि संस्कारको क्रमिक विकासको निम्ति परिणामोन्मुख नीति निर्माणबारे चर्चा परिचर्चाको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम पिण्टेल भिलेज परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा कृषि विकासमा लागि परेका पुराना कृषकदेखि लिएर युवा कृषकहरुको उपस्थिति रहेको थियो। कृषकहरुसँग पहाडका नेतृत्वको यस किसिमको अन्तरक्रिया पहिलो चोटी भएको उपस्थित एक कृषकले बताएका छन्। जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा भने, “कृषि उद्योग यस्तो उद्योग हो जुन उद्योगले नै हाम्रो बाजे बराजुहरूले हामीलाई आजको स्थितिमा ल्याउनु भएको हो। हामी सानो हुँदा हाम्रो घरमा गाई पालनदेखि कृषि अनि मौरी पालन सम्म हुन्थ्यो। तर कालान्तरमा हामीले यस्तो महत्वपूर्ण उद्योग गुमाई पठायौ।”
थापाले अझ भने, “हाम्रो बाजेको समयमा सरकारबाट कुनै सहयोग पाउँदैनथ्यो। तर उनीहरूकोमा जाँगर थियो। त्यही पौरखीको कारण खेतीपाती गर्थे। अहिले नयाँ टेक्नोलोजी कृषिमा भित्रिए पनि हामीले खास उन्नति गर्नु सकेका छैनौं, त्यसको मुख्य कारण हो हामीले जाँगर हराएका छौं।”
अनित थापाले पहाडमा कृषि क्रान्ति ल्याउनु सकिने बताउँदै भने, “कृषिमा क्रान्ति ल्याउनु पर्छ। कृषिबाट कृषकले केही आर्थिक आर्जन गर्नथाले पहाडमा कृषि उद्योग अवश्य बढेर जानेछ। मानिसहरू खेतीपाती गर्नु अग्रसर हुनेछन्।”
यसको निम्ति के गर्ने त? थापाले भने, “कृषिलाई प्रोत्साहन गर्नु पहाडमा एपिसी (Agro Processing Centre) स्थापना भएको छ। कृषकहरुलाई एपिसिसँग जोड्ने कार्य गर्नुपर्छ। यसैमार्फत् कृषकले पाउनु पर्ने सुविधा अनि सहयोग पाउनेछन्। दोस्रो, कृषकहरुमाझबाट एउटा एक्सपर्ट टीम खडा गर्ने अनि विषेशज्ञको परामर्श लिएर खेतीपाती गर्ने।”
उनले थप भने, “उत्पादन गरेर मात्र हुँदैन मार्केटिङ पनि गर्नु सक्नुपर्छ। एक्सपर्ट टिमले कृषकहरूलाई परामर्श दिनेछन्। कुन समय के काे खेती गर्ने मात्र होइन, बेमौसमको खेती आजको आवश्यकता पनि हो।”
सकारात्मक सोचले मात्र कृषिलाई अघि लैजान सकिन्छ भन्दै उनले उदाहरणको रूपमा पहाडको राजनैतीक परिवेशलाई उद्धृत गर्दै भने, “सुवास घिसिङको समयमा साम्प्रदायिक पोलिटिक्सको चेतना हाम्रो मन मस्तिष्कमा हाली दिएको थियो। बङ्गाली बनाम गोर्खा। बङ्गालीलाई घृणा गरेर पहाडमा भोट हाल्ने प्रथा चल्यो। राजनैतिक नेताहरुले यसरी साम्प्रदायिक राजनीति गरेर राजनीति गरे। त्यसरी नै १५ वर्ष बीजेपीले हामीलाई झुक्यायो। यसपाली बीजेपीले केही दिन्छ भन्ने मैले पनि आशा गरेको थिए। बीजेपीले आफूले दिएको वचन त पूरा गरेन गरेन, केन्द्रले आयोजना गर्ने डिफेन्सको परीक्षामा मान्यताप्राप्त भाषा भएर पनि नेपाली भाषालाई हालिएन।”
उनले आफ्नो राजनीति चुनावको राजनीति मात्र नभएको बताउँदै भने, “मेरो सोच हो पहाडमा शान्ति हुनुपर्छ। पहाडको राजनीतिमा सृजनात्मक राजनीति हुनुपर्छ। डर हराउनु पर्छ।”
आगामी दिनमा राज्य सरकारबाट कृषि विभागका मुख्य सचिव, जीटीएका कृषि विषेशज्ञहरू साथै अन्य विषेशज्ञलाई लिएर एक दिने कार्यशाला राख्ने सुझाव पनि दिएका छन्।