खरसाङ: भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशलाई अनुसरण गरेर २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टीद्वारा गिद्ध पहाड़मा अवस्थित घैयाबारी ग्राम पञ्चायत एकमा मिशन जागरण कार्यक्रम अन्तर्गत धरणा प्रदर्शन गरिएको छ। घैयाबारी ग्राम पञ्चायत एकमा मिशन जागरणको चौथौ दिन पनि धरणा प्रदर्शन गरिएको जानकारी प्राप्त भएको छ। उक्त धरणा प्रदर्शनलाई २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको अध्यक्ष पेमेन्द्र गुरूङले सञ्चालन गरेका थिए। उक्त धरणा प्रदर्शनलाई सम्बोधन गर्दै घैयाबारी ग्राम पञ्चायत एकको पञ्चायत प्रधान रिना छेत्रीले केन्द्रमा रहेको भाजपा सरकारले गोर्खा जातिमाथि केही नगरेको र भाजपा सरकारको कोल्टे नीतिको कारण यो धरणा कार्यक्रम आयोजना गरेको बताएका छन्। उनले यो मिशन जागरण कार्यक्रम लगातार रूपमा आयोजना गरिएको र अब आगामी २४ फरवरीदेखि जागरण यात्रा गरिने पनि बताएकी छन्। उक्त धरणा प्रदर्शनमा पञ्चायत सदस्यहरू, पञ्चायत समिति सदस्यहरू र भागोप्रमोको पदाधिकारीहरू उपस्थित रहेका थिए।