खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको मिशन जागरण कार्यक्रम अन्तर्गत महानदी ग्राम कार्यालय अघि धरणा प्रदर्शन साथै मिशन जागरणको सभा सम्पन्न भएको छ। भागोप्रमो केन्द्रीय समितिको निर्देशनमा प्रत्येक ग्राम पञ्चायत क्षेत्रतिर गरिएको मिशन जागरण कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टी अायोजनामा महानदी ग्राम पञ्चायतमा पनि भाजपा सरकारले गोर्खाहरूको लागि केही नगरेको साथै ११ जातिलाई जनजातिको मान्यता पनि नदिएको विरोधमा विरोध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शनमा भाजपाले गोर्खाहरूको लागि नगरेको भन्दै नाराहरू लगाइएको थियो। उक्त मिशन जागरण र विरोध प्रदर्शन कार्यक्रमलाई पञ्चायत सदस्य राजीव तामाङले सञ्चालन गरेका थिए भने पञ्चायत समिति सदस्या सरिता मुखिया, भागोप्रमो खरसाङ महकुमा सचिव प्रणाम रसाईली, तीनधारे महानदी समष्टीको सभासद एंव भागोप्रमो केन्द्रीय सदस्य नवराज छेत्रीले वक्तव्य राखेका थिए। वक्ताहरूले भाजपा सरकारले गोर्खाहरूको लागि केही नगरेको र केवल झूटो आश्वासन मात्रै दिएको बताउँदै यसपालीको लोकसभा चुनावमा जनताले भाजपालाई हराएर जवाब दिने आह्वान् गरेका छन्। सभामा ट्रेड युनियन खरसाङ महकुमाको सभापति सागर गुरुङ, नारी शक्ति तीनधारे महानदी समष्टीको सभापति निरा प्रधान, पञ्चायत समिति सदस्य कुसाङ लामा, महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पा र उप प्रधान सोनिका तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापाले भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा मिशन जागरण कार्यक्रम गत १९ फरवरीदेखि घैयाबारी ग्राम पञ्चायत तीनबाट शुरु गरेर शिवखेला ग्राम पञ्चायत हुँदै आज महानदी ग्राम पञ्चायतमा राखिएको बताए। उनले अब भागोप्रमो तीनधारे महानदी समष्टीद्वारा विभिन्न बुथ र शाखा प्रशाखाहरूमा शाखा पसौं अभियान पनि गरिने बताएका छन्।