राष्ट्रपति पञ्चकोट महायज्ञमा, जलसम्पदाको संरक्षणमा जोड

Photo-3-2

बागलुङ (नेपाल): राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा विहीबार बिहान सहभागी भएका छन्। राष्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको एक समारोहका बीच समुदघाटन गरे। विश्वमा शान्तिको सन्देश दिने अभिप्रायले देशदर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको जनाइएको छ। उनले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गरे। सो अवसरमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल सम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने बताए। मानव सभ्यताका लागि पानी अर्थात जलको महत्वपूर्ण भूमिका भएको भन्दै पानीका श्रोत संरक्षणमा उनले जोड दिए।

राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल र प्रकृतिको संरक्षणबाटै सम्भव छ, नदी सभ्यता जोगाएर धार्मिक पर्यटनमार्फत देशको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ’, उनले भने। धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको उनले उल्लेख गरे।’ धौलागिरि क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटको नाम आइरहेको छ, म पहिला शालग्राम संग्रहालय आएको थिए, महायज्ञले धार्मिक प्रसार, जल सम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ’ उनले भने। पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा शुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका एकसय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो। पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्येश्यले आयोजित महायज्ञ यही आउँदो महिना ६ मार्च (फागुन २३ गते)सम्म चल्नेछ। महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जनाइएको छ। विभिन्न संघ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र वासको व्यवस्था गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement