गान्तोक: सिक्किम सरकार र फुटबल डेभलपमेन्ट प्राइभेट लिमिटेडको तत्वावधानमा आयोजना भइरहेको सिक्किम प्रिमियर लिग दोस्रो सिजनको लिग चरणका म्याचहरु गन्तोकको पाल्जर स्टेडियम अनि नाम्चीस्थित भाइचुङ स्टेडियममा सम्पन्न भइरहेको छ।
यस क्रममा आज पाल्जर स्टेडियममा सिक्किम ड्रेगन फुटबल क्लब अनि थन्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लबको बीचमा खेल सम्पन्न भएको थियो। खेलको पहिलो हाफमा कुनै पनि दल गोल गर्न सफल भएनन्। दोस्रो हाफको खेलमा थन्डरबोल्टका खेलाडी टी. लेन्डुपले म्याच शुरु भएको १५ मिनटमा पहिलो गोल गर्न सफल बन्यो। यसै दलका अर्का खेलाडी आदर्श तामाङले दलकोलागि दोस्रो गोल गर्न सक्षम बने।
ड्रेगन फुटबल कल्बका खेलाडी जेकबले खेलको अन्तिम क्षणमा गोल गरे तर खेल अघिबाट नै थन्डरबोल्टको पक्षमा गइसकेको थियो। फलस्वरुप आजको खेलमा १ को विरुद्ध २ गोलले थन्डरबोल्ट नर्थ युनाइटेड फुटबल क्लब विजय बन्न सफल बन्यो। आजको खेलमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको राज्य स्तरीय समितिका अध्यक्ष एवं टिस्टा उर्जा लिमिटेडका पूर्व अध्यक्ष ज्ञानदेन छिरिङ लाचुङ्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।
आज सम्पन्न भएको खेलमा सिक्किम ड्रेगन फुटबल क्लबका खेलाडी सुमित सापकोटालाई सिक्किम सुपरिम इमर्जिङ खेलाडीको पुरस्कार प्रदान गरियो भनेदेखि थन्डरबोल्ट नर्थ युनाइटेडका खेलाडी अनुराग छेत्रीलाई म्यान अफ द म्याचको रुपमा चयन गरियो। पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथिको बाहुलीद्वारा पारितोषिक साथै चेक प्रदान गरियो।