सिक्किम: सिक्किमको पाठ्य पुस्तक तथा भाषा निदेशालयले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

WhatsApp-Image-2024-02-21-at-18.21.17

आफ्नो जातिको भाषा संस्कृतिको कुरा गर्नु साम्प्रदायिक सद्भावना विरोधी हुनु होइन: एसआर सुब्बा

गान्तोक: सिक्किम सरकारको शिक्षा विभागको अधिनस्थ रहेको पाठ्यपुस्तक तथा भाषा निदेशालयले अन्तर्राष्ट्रीय मातृभाषा दिवस पालन गर्दै राज्यका मान्यताप्राप्त क्षेत्रीय भाषाहरूको संरक्षण र विकासको निम्ति प्रतिबद्धता जाहेर गरेको छ। युनेस्कोले २१ फरवरीको दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने निर्णय गरेको लगभग २५ वर्षपछि पहिलोपल्ट निदेशालयले राज्यभरिका सबै जिल्ला कार्यालय र पाठशालाहरूमा कार्यक्रम गरेर भाषा विकासको निम्ति पहल गरेको छ। निदेशालयको निदेशक सोनाम लेप्चाको नेतृत्वमा आयोजित अन्तर्राष्ट्रीय मातृभाषा दिवस विभागको सम्मेलन कक्षमा सिक्किम अकादमीका अध्यक्ष एसआर सुब्बाको मुख्य आथित्यमा सम्पन्न भयो। कार्यक्रममा सिक्किम सरकारले मान्यता दिएको १४ वटा विभिन्न रैथाने भाषाका पाठ्यपुस्तक अधिकारीहरूले आआफ्नो भाषाको स्थिति, अवस्था, गति र दिशाबारे मन्तव्य व्यक्त गरेका थिए। जसमा विभाग र सरकारलाई सुझाव अपिल अनि मागहरू पनि सामेल थिए।

कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्य अतिथि सुब्बाले लगनशीलताको आवश्यकतालाई जोड दिए। उनले भाषा जस्तो महत्वपूर्ण विषयको विकासको निम्ति यसमा काम गर्ने सबैजना लागी पर्नुपर्ने आह्वान गरे। सिक्किम अकादमीले निदेशालयसित मिलेर भाषाबारे विभिन्न कार्यक्रम र प्रशिक्षण संचालन गरिरहेको तथा गर्न तयार रहेको बताउँदै यस्तो कार्यक्रमहरू आयोजन गरेर त्यसको उपलब्धीबारे पनि समिक्षा गर्नुपर्ने आह्वान गरे। निदेशालयको पहल सराहनीय रहेको तथा यसबाट हुने उपलब्धीको निम्ति सबै कटिबद्ध हुनुपर्ने आह्वान पनि उनले गरे। यसैगरि कुनै पनि जाति समुदायको विकासको निम्ति कुरा गर्नु साम्प्रदायिक होइन तर अन्य जातिको विरोध गर्नु चाही साम्प्रदायिक सद्भावना विरूद्ध जानु हो भन्दै भाषाकै कारण जाति बाँच्ने बताए।

कार्यक्रममा निदेशालयका निदेशक सोनाम लेप्चाले पावर पोइन्ट प्रस्तुती राख्दै सिक्किम सरकारको अधिनमा रहेको निदेशालयको स्थिति र कार्यक्रमहरूको विस्तृत जानकारी दिए। उनले सिक्किमका रैथाने भाषाहरूको विकास गर्नु हो भने केन्द्र सरकारको अधिनमा रहेका विश्वविद्यालयहरूले ती रैथाने भाषाहरूलाई अधिग्रहण गरेर त्यसको विकासको निम्ति पहल गरिदिनु आवश्यक रहेको बताए। उनले केन्द्र सरकारमार्फत हिन्दी र संस्कृत भाषाको विकासको निम्ति सम्बन्धित निकाय रहेको कारण सबै सुविधा उपलब्ध हुने तर रैथाने भाषाहरूको निम्ति त्यो हुन नसकेको कारण अब उसो विभिन्न विश्वविद्यालय मार्फत यसको विकासको निम्ति पहल गरिनु आवश्यक रहेको अनि सरकारबाट यसको निम्ति अघिल्लो कार्यक्रम तय गरिनुपर्ने प्रस्ताव पनि कार्यक्रममा राखे। यसै गरि उनले राज्यमा रहेका पाठशालाहरू रैथाने भाषा पठन पाठनको निम्ति विद्यार्थीको संख्या बढाउऩे अनि शिक्षकहरूले पनि नियन्त्रित रूपमा सही ठाउँमा पुगेर भाषा शिक्षकको भूमिका इमान्दार भएर निर्वाहन गर्नु आवश्यक रहेको बताए।

कार्यक्रममा निदेशालयका संयुक्त निदेशक विलाल प्रभाकरले अन्तर्राष्ट्रिय मातृभाषा दिवस र यसको महत्वबारे जानकारी राखे। उनले बङ्गालदेशले बङ्गला भाषालाई देशको भाषा बनाउऩ गरेको पहलबारे अवगत गराउँदै युनेस्कोले घोषणा गरेको कार्यक्रमले विभिन्न भाषाको विकासमा पुग्ने योगदानबारे चर्चा गरे। यसैगरि डा. छुकी लेप्चाले मातृभाषा दिवस र भाषाको महत्वबारे वार्ता प्रस्तुत गरिन्। कार्यक्रममा विभिन्न रैथाने भाषामा डिस्ट्यान्स मोड अफ एडुकेशनमार्फत दशौँ र बाह्रौँ श्रेणीको परिक्षा बसेर उत्तीर्ण विद्यार्थीहरूको प्रमाणपत्र वितरण गरियो। गत २० जनवरीको दिन वार्षिक परिक्षा सम्पन्न भएको थियो जसको फलाफलमा विभिन्न १४ भाषाका पाँच सय अधिक विद्यार्थीहरू मध्ये ७३ जनाले परिक्षा उतिर्ण गर्न नसकेको बताउँदै निदेशालयका अतिरिक्त निदेशक सुधा राईले सफल विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरिएको बताइन्। कार्यक्रममा विभागका अधिकारीगण, वरिष्ठ पाठ्यपुस्तक अधिकारी, भाषा शिक्षक र अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम डा. सोनाम भोटिया डा. छुकी लेप्चाले मंगलाचरण गरेपछि आरम्भ गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement