शिक्षा क्षेत्रमा धाँधली गरेको एसडीएफले एसकेएमले ल्याएको विश्वविद्यालयमा पनि धाँधली नै देख्दैछः खालिङ
गान्तोक: पूर्वको एसडीएफ सरकारले शिक्षा व्यवस्था र विश्वविद्यालयहरूमा पनि धाँधली गरेकोले अहिले पनि शिक्षा र विश्वविद्यालयको कुरा आउँदा धाँधली मात्र देख्ने गरेको जेकब खालिङको भनाइ रहेको छ।
आज पूर्व सिक्किमको मार्तम रुम्तेक समष्टिको लोवर लिङ्गदमअन्तर्गत रिमथाङमा एसकेएम पार्टीको एउटा जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्।
एसकेएम पार्टीका प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङ केही दिन अघि एसडीएफ पार्टीकी प्रवक्ता तथा पूर्व मुख्यमन्त्रीकी छोरी कोमल चामलिङको एउटा टिप्पणीमाथि प्रतिक्रिया व्यक्त गर्दै थिए। उनले भने, “पूर्व सरकारले शिक्षा र यूनिभर्सिटीमासमेत धाँधली गरेको थियो। त्यसैले जहिले पनि शिक्षा र यूनिभर्सिटीको प्रसङ्ग आउँदा उनीहरूले धाँधली मात्र देख्छन्।”
उल्लेखनीय छ, कोमल चामलिङले एउटा भिडियो रिलिज जारी गरेर राज्यको वर्तमान एसकेएम सरकारले अनावश्यकरुपमा अत्याधिक निजी विश्वविद्यालय राज्यमा भित्राएको जसमा वित्तीय धाँधली रहेको दावी गेरकी थिइन्। कोमल चामलिङको यस टिप्पणीलाई जेकब खालिङले सिक्किमे विद्यार्थीहरू विरोधी वक्तव्य तथा सिक्किमे विद्यार्थीहरूको अधिकारको हनन बताएका छन्।
उनले भने, “हाल सिक्किमदेखि बाहिर १९० वटा निजी विश्वविद्यालयमा सिक्किमका एक हजारभन्दा अधिक विद्यार्थीहरू नश्लभेदी टिप्पणीलगायत विभिन्न समस्या झेल्दै अनि घर परिवारदेखि टाड़ो रहेर अध्ययनरत छन्। समय समय उनीहरूको सुरक्षाको प्रश्न पनि उठ्ने गर्छ। ती सबै विद्यार्थीहरूलाई अटाउने अनि सुगम शिक्षा व्यवस्था सिर्जना गर्ने सोच मुख्यमन्त्री प्रेमसिंह तामाङको हो। त्यसैले आज सरकारले राज्यमा विश्वविद्यालयहरू ल्याउँदैछ।”
कोमल चामलिङको उक्त वक्तव्यको जेकब खालिङले खण्डन गरेका छन्। “उनी चाहीँ हावार्ड यूनिभर्सिटीमा पढ़िन्। बीपीएल विद्यार्थीको अधिकारको २२ लाख रुपियाँ सरकारहाट विड्र गरिन्। तर, आज उनैले सिक्किमका गरीब विद्यार्थीहरू पढ़ने यूनिभर्सिटीहरू खोलिँदा स्क्याम भन्दैछिन्। यो सिक्किमको शिक्षा नीतिको विरोध हो। यो सिक्किमे विद्यार्थीहरूको शिक्षा आर्जन गर्ने अधिकारको हनन् हो”, उनले भने।
वर्तमान सरकारले राज्यमा विश्वविद्यालयहरू “स्क्याम” गर्न होइन तर राज्य बाहिर १९० वटा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सिक्किममै पढ़ाउनको लागि स्थापना गरिरहेको खालिङले थप बताए।