मिरिक: भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा युवा शक्ति मिरिक महकुमा समितिकाे सांगठनिक सभा बुधबार मिरिक युवा आवसमा सम्पन्न भयाे। मिरिक महकुमा अन्तर्गत चारवटा समष्टिका युवा कार्यकर्ताहरू अनि अध्यक्ष सचिवहरूलाई सहभागी गरिएकाे सभाकाे अध्यक्षता मिरिक महकुमा युवा शक्ति अध्यक्ष उमेस ताेलाङ्गीले गरेका थिए। महकुमा महासचिव सुमन राईकाे सञ्चालनमा भएको सभामा भागाेप्रमाे मिरिक चुनाउ कमिटिका संयाेजक एंव सियाेक गाेपालधारा ओकाइटीका सभासद धुर्ब बम्जन, युवा शक्ति केन्द्रीय सदस्य अक्षत छेत्री आदि पनि उपस्थित थिए। सभामा युवा शक्तिकाे सांगठनिक गतिविधि अनि भावी कार्यक्रमहरूबारे व्यापक छलफल गरियाे। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गीले पार्टी केन्द्रीय समितिकाे निर्देशनमा मिरिक महकुमाकाे चारवटा समष्टिमा युवा शक्तिकाे पुर्णाङ्क कमिटि गठन भएपछि बुधबार चारवटा समष्टिलाई लिएर सभा गरिएकाे जसमा समष्टि प्रतिनिधिहरूले आ आफ्नाे मन्तव्य पाेख्दै पार्टीमा सक्रिय रहेर पार्टी अध्यक्ष अनित थापाकाे हातलाई बलियाे बनाएर लाने प्रतिबद्धता प्रकट गरेकाे बताए।उनले सभाले प्रत्येक शाखा, प्रशाखाहरूमा युवा जमातलाई संगठित गरेर पार्टी विस्तारकाे कार्यलाई सक्रिय रूपमा अघि बढ़ाउने निर्णय गरेकाे जानकारी गराउँदै युवा शक्ति मिरिक महकुमा समितिका प्रतिनिधिहरूले चाँढै पार्टी अध्यक्ष अनित थापासित भेट गरेर उनकै दिशा निर्देशमा सांगठनिक गतिविधिलाई तीब्रता लिने निर्णय गरेकाे बताए। उनले वर्तमान समयका युवाहरू विवेकशील छन्।

आजका युवाहरू नै भविष्यका देश, राज्य अनि समाजका सञ्चालकहरू हुन्। यसैले युवा शक्तिले अब झण्डा मात्रै बाेक्न हुँदैन। उनीहरूलाई सृजनशील कार्यमा अग्रसर गराउने कार्य पनि युवा शक्तिले गर्नेछ भन्दै कुलतमा लागेका युवाहरूलाई सकरात्मक बाटाेमा हिढाउन युवा शक्तिले उचित मार्गनिर्देशन गर्नेछ भनी बताए।उनले युवा शक्ति मिरिक महकुमा समितिले चाँढै मिरिकका प्रशासनिक अधिकारीहरूसित भेट गरेर नशालु पदार्थहरूकाे बिक्री अनि वितरणमा राेक लगाउन ठाेष पहल गरिदिने अनुराेध गर्नेछ भनी बताए।