खरसाङ: खरसाङ खण्ड पञ्चायत समिति अनि सिलगढी लायन्स क्लब, युनाइटेड ग्रेटरको संयुक्त तत्वावधानमा आज खरसाङको स्प्रिङसाइडमा रक्त दान साथै आँखा जाँचको शिविर आयोजना गरिएको छ। बिहान ११ बजेदेखि सुरु गरिएको शिविर साँझ ४ बजेसम्म चलेको थियो। सुमित सरकार, अध्यक्ष लायन्स क्लब अफ सिलगढी, युनाइटेड ग्रेटरले जानकारी दिए अनुसार लायन्स क्लबले शिविर आयोजना गर्न जीटीएका प्रमुख कार्यपाल अनित थापासँग सम्पर्क गरेको अनि उनैको परामर्शमा शिविर आयोजना भएको बताएका छन्।

सरकार अनुसार आजको शिविरमा १५० युनिट रक्तदान हुने टार्गेट राखिएको छ भने २०० भन्दा बढीको आँखा जाँच। उनले अझ भने कि आगामी दिनमा जीटीए क्षेत्रको ९ वटा खण्डमा यस्तो शिविर आयोजना गरिने छ। आँखा जाँचबाहेक महिला रोग विषेशज्ञको सुविधा पनि शिविरमा राखिनेछ। समाचार लेखिन्जेल सम्म १०३ युनिट रक्तदान भएको छ साथै १७३ जनाको आँखा जाँच गरिएको थियो। खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री प्रधानले शिविरमाथि प्रकाश पार्दै भनिन्, “रक्तदान शिविरमा आफु साथै खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती लगायत पञ्चायतका सदस्यहरुले पनि रक्तदान गरेका छन्। आज शिविरमा जाँच गराउन १४ वटा ग्राम पञ्चायतबाट युवक युवतीहरु रक्तदान गराउन आएका थिए भने आवश्यक परेकाहरूले आँखा जाँच पनि गराएका थिए।”

रक्तदान गर्नेलाई लायन्स क्लबको तर्फबाट प्रमाण पत्र वितरण गरियो भने चश्मा चाहिनेलाई चश्मा पनि शिविरमा दिइएको थियो।