कालचीनी: वन विभागले राखेको खोरमा एउटा जंगली वयस्क चितुवा फसेको छ। आज बिहान यो चितुवा अलिपुरद्वार जिल्लाको कालचीनी ब्लक अन्तर्गत दलसिङपाडामा खोरमा फसेको थियो।स्थानीय मानिसहरुले चितुवालाई खोरमा थुनिएको देखेपछि यसको जानकारी वन विभागलाई दिइयो। खबर पाएलगत्तै निलपाडा रेन्जका वनकर्मी घटनास्थल पुगेर खोरमा थुनिएको चितुवालाई निकालेर जल्दापाडा लगेका थिए। यसैबीच चितुवा हेर्न मानिसको भीड लागेको थियो ।दलसिङपाडा चियाबारीमा धेरै चितुवा रहेको स्थानीयले बताएका छन्। किनभने चितुवाले बाख्रा र बाछोलाई निरन्तर आक्रमण गरिरहेको छ। लामो समयदेखि दलसिङपाडा चियाबारी बन्द भएकाले वरपर जङ्गल र झाडी बढेको वन विभागका निलपाडा रेन्जका बीट अधिकृत रुपेश मोतीले बताए। त्यसैले यो चितुवा बस्नको लागि राम्रो ठाउँ बनेको छ।