नयाँ दिल्ली: ईंग्ल्याण्ड विरुद्ध पाँचवटा टेस्ट म्याचको सीरीजमा अहिले २-१-ले अघि रहने टीम इण्डियाको निम्ति राँचीमा खेलिने चौथो टेस्ट म्याच चुनौतीपूर्ण हुनसक्छ कारण टीमका सबैभन्दा प्रभावशाली पेस बलर जसप्रीत बुमराह मैदानमा हुनेछैनन्। बुमराहले अहिलेसम्म तीनवटा टेस्ट म्याचमा सर्वाधिक १७ विकेट लिएका छन् अनि दुईवटा टेस्टमा भारतलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसपाली बीसीसीआई-ले खेलाड़ीहरूका कार्यभार प्रबन्धन नीतिलाई ध्यानमा राखेर बुमराहलाई राँचीमा खेलिने टेस्ट म्याचमा विश्राम दिने फसेला गरेको छ। उनी धर्मशालामा खेलिने सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचको निम्ति टीममा फर्किन सक्छन् तर यो राँची टेस्टमा भारतीय टीमको नतीजामाथि निर्भर गर्नेछ।
बीसीसीआई-द्वारा जारी मीडिया विज्ञप्तिमा भनिएको छ, ईंग्ल्याण्ड विरुद्ध राँचीमा खेलिने चौथो टेस्ट म्याचबाट जसप्रीत बुमराहलाई रिलीज गरिएको छ। सीरीजको अवधि र हालका दिनहरूमा उनले खेलेको क्रिकेटलाई ध्यानमा राखेर यस्तो फसेला लिइएको छ। खेलाड़ीहरूका कार्यभार प्रबन्धनलाई ध्यानमा राखेर बुमराहलाई विश्राम दिइएको छ। यसबीच केएल राहुल चौथो टेस्टबाट पनि बाहिर भएका छन्। धर्मशालामा खेलिने अन्तिम टेस्ट म्याचमा उनको भागीदारी फिटनेसमाथि निर्भर रहनेछ। राजकोटमा तेस्रो टेस्टको निम्ति टीमबाट रिलीज गरिएका पेस बलर मुकेश कुमार राँचीमा टीममा सामेल भएका छन्। टेस्ट सीरीजको तेस्रो म्याचमा भारतको निम्ति रजत पाटीदारले पदार्पण गरेका थिए तर उनले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। यसपाली केएल राहुल टीममा नहुँदा पाटीदारले अझ एउटा मौका पाउने सम्भावना छ। यसबाहेक विकेटकीपिंगको जिम्मेवारी ध्रुव जुरेलले नै निर्वाह गर्न सक्छन्। जुरेलले राजकोटमा खेलिएको टेस्ट म्याचमा आफ्नो ब्याटिंगद्वारा सबैलाई प्रभावित गरेका थिए। यसबाहेक विकेटको पछि उभिएर पनि उनले असल काम गरेका थिए। ईंग्ल्याण्ड विरुद्ध जारी टेस्ट सीरीजमा बुमराहको साथमा युवा ओपनर यशस्वी जयसवालले पनि असाधारण प्रदर्शन गरेका छन्। जयसवालले जारी सीरीजमा लगातार दुईवटा दोहोरो शतक बनाएका छन्। उनले दोस्रो टेस्टमा २०९ र तेस्रो टेस्टमा अविजित २१४ रन बनाएका थिए।
चौथो टेस्टको निम्ति भारतीय टीमः
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, शुभमन गिल, रजत पाटीदार, सरफराज खान, ध्रुव जुरेल (विकेटकीपर), केएस भरत (विकेटकीपर), देवदत्त पडिक्कल, आर अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार र आकाश दीप।