पवन चामलिङले फेरि कीर्ते पर्चाको राजनीति शुरु गरेको विकास बस्नेतको आरोप

IMG-20240220-WA0196.jpg

साेरेङ: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले फेरि कीर्ते पर्चाको राजनीति शुरु गरेको विकास बस्नेतले आरोप लगाएका छन्। सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवा नेता तथा मुख्यमन्त्री प्रेमसिंह तामाङका प्रेस सचिव बस्नेतले आज पश्चिम सिक्किमको सोरेङमा पार्टीको समष्टिस्तरीय जनसभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

उनले आफ्नो गृह समष्टि राङ्गाङ याङ्गाङमा कथित रुपमा पवन चामलिङको निर्देशनमा कीर्ते पर्चाहरू वितरण भइरहेको दावी गरेका छन्।

उल्लेखनीय छ, एसकेएम पार्टीले पूर्वमा २५ वर्ष लगातार सत्ता हाँकिसकेको सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीमाथि कीर्ते पर्चाको राजनीति गर्ने गरेको आरोप लगाउँदै आएको छ।

विकास बस्नेतकाअनुसार वर्तमान एसकेएम पार्टीको सरकारकालमा कीर्ते पर्चाको संस्कार समाप्त भएको छ। तर, अहिले आएर राज्य विधानसभा र लोकसभा चुनाउको छेकमा विपक्षी पार्टी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले कीर्ते पर्चाको राजनीति फेरि शुरु गरेको उनको भनाइ रहेको छ।

दक्षिण सिक्किमको राङ्गाङ याङ्गाङबाट एसडीएफ-ले कीर्ते पर्चा बाँड़ने काम पुनः शुरु गरेको उनले बताए। उनको दावीअनुसार हाल राङ्गाङ याङ्गाङमा दुईवटा कीर्ते पर्चा वितरण भइरहेको छ। यसको निम्ति बस्नेतले सोझै एसडीएफ अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई दोष्याएका छन्। कीर्ते पर्चाबाट शुरु भएको चामलिङको एसडीएफ पार्टीले फेरि कीर्ते पर्चा बाँड़न थालेको छ, उनले भने।

आजकै जनसभालाई सम्बोधन गर्दै एसडीएफ सरकारकालमा दुईपल्ट विधायक रहिसकेकी अनि हाल एसकेएम पार्टीको नारी शक्तिको शीर्ष पदमा रहेकी चन्द्र माया सुब्बाले पनि पुनः एकपल्ट एसडीएफ पार्टीमाथि कीर्ते पर्चाको राजनीति गर्ने गरेको आरोप लगाएकी छन्। उनको भनाइअनुसार एसडीएफ सरकारकालमा तत्कालिन मुख्यमन्त्री पवन चामलिङकै निर्देशनमा कीर्ते पर्चाहरू बाँड़िने गरिन्थ्यो जसबाट आफू जस्ता सत्तारुढ़ पार्टीकै महिला विधायकसमेत अछुतो थिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement