खरसाङ: पार्टी संस्थापक अध्यक्ष अनित थापाको निर्देश बमोजिम मिशन जागरण सभा मंगबारको दिन खरसाङको पंखाबारी सार्वजनिक भवनमा बुथ नम्बर २२२ मा मिशन जागरण साथै शाखा गठन गर्न हेतु एक जरुरी सभा पंखाबारी लंगभ्यु अम्बटे समष्टि समष्टि सभापति साथै सन्त मेरिज-३ पञ्चायत प्रधान मनिराज डुम्जनको सभापतित्वमा सम्पन्न भयो। पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान, भागोप्रमो केन्द्रीय समिति सांगठनिक सचिव बिन्नी शर्मा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समिति सदस्य मौसम लामा, कबीर लामा, आदिले सम्बोधन गरेका थिए।
समष्टि कार्यकारी सभासद कल्पना प्रधानले जागरण सभाको उद्देश्य गाउँ घरमा बिजेपी पार्टीले गोर्खा जातिलाई दिएको धोका गाउँ घरमा पुर्याउन हो भनी जनाइन्। विगत पञ्चायत चुनावको नतीजा जे जस्तो भए तापनि अब संगठित भई पार्टीको हितमा कार्य गर्न पर्ने सुझाव राखिन्। पंखाबारी क्षेत्रलाई अझ विकसित गर्न नयाँ गाउँ जाने बाटो निर्माण गर्न आवश्यक रहेको र यसको निम्ति आफ्नो पक्षबाट विभागीय पहल गरिसकेको पनि उहाँले आफ्नो सम्बोधनमा जनाइन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सांगठनिक सचिव साथै खरसाङ महुकमा समिति चुनाव प्रभारी बिन्नी शर्माले सभालाई सम्बोधन गर्दै बिजेपी पार्टीले विगत १५ वर्षदेखि पहाडमा गरेको ढाँटको राजनिति उदांगो भएको र यसैकारण विगत जीटीए अनि पञ्चायत चुनावमा पहाडको जनताले यथार्थको राजनीतिलाई रोजेको जनाए। आगामी लोक सभा चुनावमा हाम्रो चुनावी चिन्ह पनि अनित थापा र प्रार्थी पनि अनित थापा हो भन्नै सोच लिएर चुनाव मैदानमा जान पर्ने मत राखे। मिशन जागरण सभालाई सम्बोधन गर्दै खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामुले २००९ देखि २०२४ बिजेपी दलले पहाडको निम्ति सिन्कोसम्म भाँचेन। महाकाल बाबाको कसम खाने नेताले पनि गोर्खाल्याण्डको मुद्दालाई पीपीएसमा परिणत गर्यो र विगत पञ्चायत चुनाव अवधि पञ्चायत सदस्यलाई ५ लाख र समिति सदस्यलाई १० लाख दिने वाचा गर्ने नेताले वाचा पूरा नगरेको जनताले बुझिसकेको जनाए। सभालाई सम्बोधन गर्दै समिति सदस्य मौसम तामाङले यसपाली लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई गोर्खा जाति चामलमा भोट हाल्ने जाति होइन भन्ने सन्देश दिने समय आएको जनाए। सभालाई सम्बोधन गर्दै कबीर लामाले संगठन बलियो हुनको निम्ति गाउँमा संगठन दह्रिलो हुन अति नै आवश्यक रहेको जनाए। आज सम्पन्न सभामा शाखा समितिको सभापति सुरज प्रधान, उप-सभापति कबीर लामा, चयन गरियो भने सचिवको पदमा पुकार लामा, सह-सचिवको पदमा सन्तबीर लोप्चन, कोषाध्यक्षको पदमा जीवन प्रधानलाई सर्वसम्मतिले चयन गरियो साथै पंखाबारी क्षेत्रका महुकमा समिति साथै समष्टि सदस्यगण नव गठित शाखा समितिको प्रमुख सल्लाहकार रहने जनाए। आजको सभाको सभापति मणिराज डुम्जनले नव गठित शाखा समितिका सदस्यहरुलाई शुभकामना टक्राए। पार्टीको निर्देश अनुसार नै प्रत्येक पंचायत सदस्यहरुलाई बुथको संयोजकको रूपमा चयन गरिएको पनि उहाँले जनाए।

सभामा मनोनीत सभासद प्रणाम रसाईली,भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति सदस्य सन्तोष तामाङ, पञ्चायत सदस्य बिमला लामा, महुकमा समिति सांगठनिक सचिव सुबोध लामा, महुकमा समिति सदस्य कबीर लामा, खरसाङ महुकमा समिति कार्यकारी आदिको बिशेष उपस्थिति रहेको थियो।











