खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टी अन्तर्गत शिवखेला ग्राम पञ्चायत क्षेत्रलाई लिएर मिशन जागरण सभा नरबुङ चियाबारीको सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता भागोप्रमो तीनधारे महानदी समष्टीको सांगठनिक सचिव सीबी राईले गरेका थिए। सभामा भागोप्रमो केन्द्रीय नेतृत्व एंव खरसाङको चुनाव प्रभारी बिन्नी शर्मा, भागोप्रमो खरसाङ महकुमाको सचिव प्रणाम रसाईली, तीनधारे महानदी समष्टी सभासद नवराज छेत्री आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले भाजपाले गोर्खाहरूलाई केवल भोट ब्यांक मात्र बनाएको तर अहिलेसम्म केही नदिएको बताए। वक्ताहरूले संसदको अन्तिम सत्रमा पनि गोर्खाहरूको कुनै मांग पूरा भएन, अन्यलाई दिइएको तर गोर्खाहरूको दीर्घकालीन मांग ११ जात गोष्ठीलाई जनजातिको मांग पनि नदिएको भन्दै यसपालीको लोकसभा चुनावमा गोर्खाहरूले भाजपालाई हराएर देखाउनु पर्ने बताएका छन्। सभामा भागोप्रमो तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, शिवखोला ग्राम पञ्चायतको उप प्रधान अम्बिका देवान, पञ्चायत समिति सदस्याद्वय अनिरा तामाङ र दिक्षा छेत्री, पञ्चायत सदस्याद्वय सृजना छेत्री र मोनिका लामा साथै भागोप्रमो तीनधारे महानदी समष्टीको उप सभापति राजु लामा, युवा शक्तिका निरेन लामा लगायत अन्यहरू उपस्थित रहेका थिए।

सभालाई सञ्चालन साथै स्वागत सम्भाषण राजेस थापाले राखेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टीले केन्द्रीय समितिको निर्देशनमा समष्टीमा मिशन जागरण सभा निरन्तर गरिरहेका छन्। यसै क्रममा आगामी दिनमा अन्य स्थानहरूमा पनि मिशन जागरण सभा आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।