आजदेखि ७५औं स्वाधीनता दिवस कार्यक्रम विधिवत शुरुवात

सोरेङ: सोरेङ जिल्लास्थित सोरेङ स्कूलको खेलमैदानमा पनि आजदेखि ७५औं स्वाधीनता दिवस कार्यक्रम विधिवत शुरुवात भयो। यता सिक्किममा राज्यव्यापी स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत विविध कार्यक्रम सम्पन्न भइरहेको छ। यता नयाँ जिल्लाको रूपमा सोरेङ अस्तित्वमा आएपछि सोरेङ जिल्लावासीले स्वतन्त्रता दिवस भव्यरूपमा आयोजना गरेको छ। स्वतन्त्रताको अमृत महोत्सव अन्तर्गत सोरेङमा आयोजित ७५औं स्वतन्त्रता दिवस कार्यक्रममा पुरुषवर्गको खुल्ला फुटबल टूर्नामेन्ट अतिरिक्त विविध प्रतियोगितात्मक कार्यक्रमहरु समावेश गरिएका छन्। सिङलिङ स्पोर्टिङ क्लब र सोरेङ जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा आयोजित ७५औं स्वतन्त्रता दिवसको उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्।
उनको साथमा समारोह समितिका संरक्षक एवं क्षेत्र विधायक आदित्य गोले, समारोह समितिका संरक्षक एवं विधायिका सुनिता गजमेर, संरक्षक एवं विधायक केएस लेप्चा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, जिल्ला पञ्चायत अध्यक्ष देविका सुब्बा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार एमएन सुब्बा, कृषि एवं बागवानी बोर्डका अध्यक्ष सीके राणा, सुचना प्रौद्योगिकी विभागका अध्यक्ष नवराज गुरुङ, सिक्किम संगीत तथा नाटक, नृत्य एवं फिल्म बोर्डका अध्यक्ष पूजा शर्मा, पावर एड्भाइजरी बोर्डकी अध्यक्ष मिङ्मा लामा भोटिया, सिक्किम खादी एवं उद्योग बोर्डकी अध्यक्ष छुङछुङ भोटिया, संघ-संस्थाका प्रतिनिधिगण, विद्यार्थीहरू, खेलप्रेमी दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो।
७५औं स्वाधीनता दिवस खुल्ला फुटबल टूर्नामेन्टमा सिक्किम अनि राज्य बाहिरका मोठ १६ प्रतिष्ठित फुटबल क्लबहरुले अंशग्रहण गरेका छन्। जसमा ११ जीआरआरसी लखनउ, आर्मी बोइस् शिलङ, जोर्जन एफसी कालेबुङ, कञ्चनजंघा एफसी सिलगढी, सिलगढी युनाइटेड, मानेभञ्ज्याङ एफसी दार्जीलिङ, झापा एकादश नेपाल, एमओबी खारसाङ, दार्जीलिङ पुलिस, आईआरबी पिपले सिक्किम, याङथाङ सिक्किम, सिक्किम हिमालयन एफसी, सोरेङ च्याखुङ सिक्किम र आक्रमण एफसी सिक्किम सामेल छन्। फुटबल टूर्नामेन्टको आयोजक समितिले बिजेता टिमलाई पाँच लाख र उपविजेता टिमलाई तीन लाख रुपियाँसहित आकर्षक ट्रफी प्रदान गर्ने बताइएको छ। फाइनलमा उत्कृष्ट खेलाडीलाई “हिरो एक्स-प्लस २०० मोटरबाइक” प्रदान गरिने छ। आज खेलिएको उद्घाटन खेलमा माझीटार सिक्किमले ११ जीआरआरसी लखनउलाई एक गोलको विरुद्ध ६ गोलले परास्त गरि क्वाटर फाइनलमा प्रवेश गरेको छ। लखनउले आशा अनुरुप आफ्नो खेल प्रर्दशन गर्न सकेन। आज उद्घाटन कार्यक्रमलाई अतिरिक्त जिल्लापाल धिरेन सुवेदी, विधायिका सुनिता गजमेर, विधायक आदित्य गोले र मुख्य अतिथि शारदा तामाङले पनि छोटकरीमा सम्बोधन गरेका थिए। कार्यक्रममा मुख्य अतिथि तामाङलाई आयोजक समितिले स्मृति चिन्ह प्रदान गरेर सम्मान पनि जनायो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *