काेलकाता: एसएससी भर्ती भ्रष्टाचार मामिलामा ईडीले प्रसन्ना रायलाई सोमवार राती पक्राउ गरेको छ। यस मामिलामा ईडीको यो पहिलो पक्राउ हो। प्रसन्नलाई एसएससी भर्ती भ्रष्टाचार मामिलामा उसको कथित संलिप्तताको निम्ति सीबीआईले पहिला पक्राउ गरेको थियो भने जमानत पाएपछि बाहिर आएका थिए।
ईडी सूत्र अनुसार गत जनवरीमा प्रसन्नाको फ्ल्याट अनि अफिस सहित सातवटा ठेगानामा भएको खानतलासीमा केही कागजपत्रहरू फेला परेको थियो। त्यै कागजपत्रको आधारमा उसलाई सीजीओ कम्प्लेक्समा डाकिएको थियो। तर त्यसबेला उसले आफू आउन नसक्ने बताएको थियो। ईडीले फेरि उसलाई गए सोमवार जाँचबुझको लागि बोलाएको थियो। उसित दिनभरि जाँचबुझ भयो। ईडी अधिकारीहरूले भनेका छन्, उसले जाँच अधिकारीहरूलाई भ्रमित पार्ने प्रयास गरिरहेको थियो जस पश्चात अबेर राती उसलाई पक्राउ गरियो।
ईडी औ सीबीआई सूत्र अनुसार प्रसन्नाको नाम न्यूनतम पनि 80 वटा कम्पनीहरूमा छ। यस अतिरिक्त उसकी पत्नीसित अकुत सम्पत्ति छ। विधाननगर, न्यू टाउन र शहरका विभिन्न भागहरूमा उसको धेरैवटा सम्पत्ति छ। ईडी अधिकीरहरूको भनाइ छ, भ्रष्टाचारबाट हासिल गरेको राशिबाटै उसले ठूलो सम्पत्ति थुपारेको छ।
एसएससी भर्ती भ्रष्टाचार मामिलामा प्रसन्नामाथि आरोप थियो, उ सल्लाहकार समितिका पूर्व प्रमुख शान्तिप्रसाद सिन्हाका निकटवर्ती थियो। उ राज्यका पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जीको पनि नजिकमा थियो। उसको घरमा खानताली गर्दा एजेन्सीका अधिकारीहरूलाई भाजपा नेता एवं सांसद दिलीप घोषको घरको कागजपत्रको फोटोकपी पनि हात लागेको थियो।
भर्ती भ्रष्टाचारसित सम्बन्धित दुईवटा मामिलाको जाँच गर्ने क्रममा सीबीआईले प्रसन्नाको नाम भेटेपछि उसलाई सीबीआईले पक्राउ गरेको थियो। यद्यपि केन्द्रिय एजेन्सीले चार्जशीटमा उसको नाम उल्लेख गरेको थिएन। आरोप पत्र जारी भएपछि पनि एक निश्चित अवधिभरि कुनै प्रकारको कारबाही नभएपछि प्रसन्नाले यस मामिलामा सुप्रीम कोर्टको ढोका ढक्ढकाए। सुप्रीम कोर्टले केही शर्तहरू सहित सीबीआईको मामिलामा उसलाई जमानत दिएको थियो।









