बिजुली महोत्सवको आज समापन

गान्तोक: आज आजादीको अमृत महोत्सव अन्तर्गत स्वाधीन भारतको ७५औं वर्षगाँठ पालन गर्न केन्द्रिय विद्युत तथा नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालयद्वारा देशव्यापी प्रत्येक जिल्लामा उज्ज्वल भारत उज्ज्वल भविष्य- विद्युत/२०४७ को छातामुनि आयोजित बिजुली महोत्सवको समापन भयो। बिजुली महोत्सवको माध्यमद्वारा विगत आठ वर्षको अवधिमा विद्युत क्षेत्रमा हासिल गरिएका उपलब्धिहरूबारे जनमानसलाई विविध माध्यमद्वारा अवगत गराउने प्रयास गरियो। देशव्यापी रूपमा गत २५ जुलाईदेखि शुरु गरिएको बिजुली महोत्सवको क्रममा जिल्ला प्रशासनहरूका सहयोगमा १५ सय भन्दा धेरै कार्यक्रम आयोजन गरियो, जहाँ केन्द्रिय मन्त्री, सांसद, विधायकहरूका साथमा राज्यका मन्त्री अनि लब्धप्रतिष्ठ व्यक्तित्त्वहरूले धेरै सङ्ख्यामा सहभागिता जनाएको जानकारी पीआईबीले दिएको छ।
बिजुली महोत्सवको समापन ३० जुलाईको दिन सम्पन्न भयो। राष्ट्रिय स्तरको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि परोक्ष रूपमा सहभागिता जनाउँदै देशको एक सयभन्दा धेरै जिल्लाका लाभार्थी अनि प्रतिभागीहरूसँग संवाद गरे। भारत सरकारद्वारा विद्युत क्षेत्र अन्तर्गत प्रदान गरिएको विभिन्न लाभका लाभार्थीहरूसँग पनि उनले संवाद गरे।
सिक्किमा समापन कार्यक्रम नाम्ची सरकारी कन्या वरिष्ठ उच्चतर स्कूलमा आयोजन गरिएको थियो। यस अवसरमा विधायक तथा विद्युत विभागका सल्लाहकार पिन्छोनामग्याल लेप्चा मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसै गरी विद्युत विभागका सचिव एवं मुख्य अभियन्ता गणेश छेत्री, एनएचपीसीका कार्यकारी निर्देशक एसपी मुखर्जी, सीपीएसईका राज्य शार्ष अधिकारी, जिल्लापाल, विद्युत विभागका वरिष्ठ अधिकारीगण, एनएचपीसी अनि बीईईका जिल्ला शीर्ष अधिकारीहरूका अतिरिक्त केन्द्रिय योजनाका लाभार्थीहरू पनि यस अवसरमा उपस्थित थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा विद्युत मन्त्रालयको ध्वजवाहक सुधार आधारित वितरण क्षेत्र योजनालाई पनि झण्डा देखाए, जुन वितरण कम्पनीहरूको परिचालन कौशलता र वित्तीय वहनीयतामा सुधार ल्याउन लक्षित छ। वित्तीय वर्ष २०२१-२२ देखि २०२५-२६ सम्म पाँच वर्षको अवधिका लागि रु. ३,०३,७५८ करोडको वित्तीय परिव्ययका साथ वितरण कम्पनीहरूको आधुनिकीकरण तथा वितरण पूर्वाधारहरूको सुदृढिकरणका साथै उपभोक्ताहरूसम्म गुणस्तरीय अनि विश्वसनीय विद्युत प्रसारणका लागि वित्तीय सहायता प्रदान गर्न योजना लक्षित छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *