यसरी कालापत्थर बन्दैछन् हिमाल

_SHO6608

सोलुखुम्बुबाट पुष्प श्रेष्ठ***

सोलु (नेपाल): सोलुखुम्बु जिल्ला भन्ने बित्तिकै सबैको मनमा आउने शब्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला। तर हिमाली जिल्ला भए पनि केहि वर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले बिर्सन थालेका छन्। जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्ण रुपमा परिसकेको छ। हिउँले छोपी रहने हिमालहरू कालापत्थरमा परिणत भएर देखिन थालेको छ। हिमालको काखमा रहेका बस्तीहरूमा लामखुट्टेले आफ्नो धुन हाल्न थालि सकेको छ। विकासका नाममा बनेका सकडबाट उडेका धुलो, त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाई दिएको छ।

सदरमुकाम नजिकै देखिने दुधकुण्ड हिमाल समेत विस्तारै रुप फेर्दै छ। विश्वको सर्वोच्च शिखर सगरमाथाले रुप फेरेको त धेरै भइसक्यो। उहिलेका मानिसहरू सदरमुकामबाट नजिकै देखिने दुधकुण्डको काखमा रहेको हिमाल हेरेर खेति गर्ने समयको अनुमान लगाउँथे। हिमालमा हिउँ पर्यो। यसपाली आलु मकै, गौहुँ, जौ लगाएको खेती सप्रने भयो भनेर खुशी हुन्थे। तर अहिलेको परिवर्तनशील समयले हिमाल हेरेर खेती उत्पादनको लखकाट्ने मानिस कमै भेटिन्छन्। कार्तिक लागे पछि डाउन ज्याकेट जस्ता बाक्ला कपडा लाउनु पर्ने सोलुखुम्बुमा अब बाक्लो ज्याकेट सम्झने मात्र हो।  सामान्य हावा छेक्ने ज्याकेटले दिन कट्न थालेको छ। मंसिरको अन्तिमबाट मागको पहिलो सातासम्म लगाउने आलु हिउँ पानीको अभावमा फागुन लागे पछि रोप्न बाध्य भएका छन्। आकाश खुल्ला हुँदा पर्ने तुसारो र शीतको आशमा स्थानिय कृषकले खेती लगाउन थालेका छन्।

जलविद्युत गृहहरू पनि कृषि उत्पादनमा परिरहेको असरको कारक बनेका छन्। एउटै खोलाबाट उत्पादन भएका बिभिन्न कम्पनीका जलविद्युतबाट नियमानुसार खोलामा बगाईनु पर्ने १० प्रतिशत पानी नदिँदा खेतबारी सुख्खा बनेका छन्। खोलामा देखिने जलचर प्राणीहरू देखिन छाडेको छ। उहिले खोला नजिक जाँदा डराउनेहरू आज त्यही खोलाबाट बालुवा गिट्टीको ब्यापारमा रमाई रहेका छन्। स्थानीय प्रशासन खोलामा पानी नै नछाड्ने जलविद्युत कम्पनी होस् या ढुँगा गिट्टी बालुवाको दोहन सक्रिय माफियाहरूमाझ चुपचाप कानमा तेल हालेर बसेका देखिन्छन्। घर आँगनका जंगलहरू काठ व्यापारीको निशानामा परिदिँदा हरियो जंगल उराठलाग्दो बनेका छन्। उबेला उत्तिसका काठहरू काम लाग्दैन भन्नेहरूले आज जंगल नै सखाप पारेर तराईतिर ओसारेका छन्।

खच्चड लगायत हेलिकोप्टरले बोकेर लगेका ग्यासका सिलिण्डरहरू पहाड बन्न थालेको छ। थाप्लोमा नाम्लो लगाएर विदेशी पर्यटकको भारी बोकी जीवन यापन गर्ने युवाहरू अब भेटिन छाडेको छ। हिमालमा रम्न आउने पर्यटकहरू कालापत्थर देखेर निरास हुँदै फर्कँदैछन्। उबेला बनेका हिमतालहरू सुक्दो र पानी घट्दो क्रममा रहेको छ। कुनै बेला हिमताल फुट्ने डरले आत्तिएका स्थानियहरू आज त्यही नदि खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभूमिको कल्पना गर्ने थालेका छन्। जमिन जोत्न प्रयोग गरिने गोरुको ठाउँमा पेट्रोल र डिजेलबाट चल्ने हलोले खेतबारीसँगै वातावरणलाई असर गरिरहेको पत्तो छैन। एकातिर उत्पादनमा कमी त छँदै छ। उत्पादित बस्तुहरूले भने जस्तो बजार पाउन छाडिसकेका छन्। विभिन्न रासायनिक पदार्थ मिसाइएका खाद्य पदार्थहरूले हिमाल पहाडका बस्तीलाई नछोएको भन्ने छैन। गाउँघरका विषादीरहित खाद्य पदार्थ सस्तो मूल्यमा बाहिरिन थालेको यथार्थ छर्लँग हुँदाहुँदै स्थानीय निकायले कुनै रोक्ने पहल गरेको देखिन्न। स्थानीय निकाय गाउँगाउँको सिंहदरबार भने पनि उनीहरूलाई न त जलवायु परिर्वतनले असर गरेको छ न विभिन्न रासायनिक पदार्थ मिसाइएका खाद्य वस्तुले। उनीहरू त केवल जित्नका लागि नारा बनाउन मात्र खप्पिस छन्। जितेपछि गाउँलेलाई थर्काएर शासन गर्न अग्रसर छन्।

अग्ला पहाडमा दृश्य देखाउन भनेर लाखौं खर्चेर बनाइएका भ्यु टावरहरू रातको सिरेटोसँग टिनका छानाहरू बजाउँदै बसेका छन्। तर यो टिनको छानोले के खोजी रहेको छ नीति निर्मातालाई सोच्ने फुर्सद छैन। हरिया वनहरू नाँगा बनिसके, सेता हिमालहरू काला हुँदै गए, तर पनि नेतागणहरू कुनै असहज महसुस गरेका छैनन्। अझै भन्ने गर्छन् यी सबै जलबायु परिर्वतनका असर हुन् भनेर। यदि असरको बारेमा थाहा भए त न्युनिकरणका लागि उनीहरूको दिमागमा किन बत्ति नबलेको भनेर सर्वसाधारण मानिसहरू प्रश्न गर्न थालेका छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement