खरसाङ: खरसाङमा वेष्ट बेंगल नेवार डेवलपमेण्ट कल्चरल बोर्ड र नेवार बुद्धिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा नेवारी संस्कृति र उत्पादहरूलाई प्रोमोट गर्ने लक्ष्यको साथ आयोजित पहिलो भिमसेन च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा सोमवार तेस्रो क्वार्टर फाइनल म्याच खेलियो। नयाँ बजार स्थित डब्ल्यूबीएनभीएफ मैदानमा भएको म्याचमा नाम्सु मिरिकले सिरुबारीलाई ५-२-ले पराजित गऱ्यो। म्याच हारे पनि सिरुबारीका गोलकीपर वांगचुक तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो, जसलाई मुख्य अतिथि प्रबीर प्रधान (म्यानेजर, टुरिष्ट लज खरसाङ)-को बाहुलीबाट पुरस्कार प्रदान गरियो। मंगलवार खेलिने अन्तिम क्वार्टर फाइनलमा सालबारी ब्रेव ब्ल्यू र बारबुंग युनाइटेड ब्रदर्सबीच भिड़न्त हुनेछ। संशोधित कार्यक्रम अनुसार यस सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको दुईवटा सेमिफाइनल २२ र २३ फरवरीमा हुनेछ। पहिलो सेमिफाइनलमा नाम्सु मिरिक र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी फाइनल २५ फरवरीमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









