गान्तोक: राज्य सरकारले अस्थायी कर्मचारीहरूको स्थायीकरणको चार वर्षे नीति लागु गरेपछि अहिले विभिन्न तप्काका अस्थायी कर्मचारीहरूले आ-आफ्नो माग लिएर अघि आइरहेको छ। यसै क्रममा सड़क एवं पुल विभागमा वान फ्यामेली वान जब योजनाअन्तर्गत खलासी-को रुपमा कार्यरत अस्थायी कर्मचारीहरूलाई प्रतिनिधित्व गर्दै अफिस सहायकहरूको प्रतिनिधि टोली आज मुख्यमन्त्रीको सरकारी आवास मिन्तोकगाङ पुगेको थियो।
यसरी माग लिएर आएका प्रतिनिधि टोलीलाई मिन्तोकगाङ परिसरमा मुख्यमन्त्री प्रेम सिंह तामाङले भेटेर उनीहरूको माग सुने। कर्मचारीहरूको मागलाई ध्यानपूर्वक सुनेपेछि सरकारको पक्षबाट सहयोग गर्ने आश्वासन दिए। कुराकानीको क्रममा मुख्यमन्त्रीले वर्तमान सरकारले कर्मचारी मैत्री योजनाहरू लागु गरेको बताए।