मुम्बई: राष्ट्रिय टीममा नरहे पनि रणजी ट्रफीमा खेल्न नचाहने क्रिकेटरहरूलाई चेताउनी दिँदै भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले केन्द्रीय अनुबन्धित भारतीय खेलाड़ीहरूसँग देशको निम्ति खेल्ने इच्छा रहे घरेलु क्रिकेटमा आफ्नो क्षमता साबित गर्नु पर्ने बताए। शाहले यस हप्ताको शुरुवातमा खेलाड़ीहरूलाई लेखेको एउटा पत्रमा बोर्डलाई इण्डियन प्रीमियर लीग (आईपीएल) को सफलतामा गर्व रहेको तर खेलाड़ीहरूका घरेलु क्रिकेटको स्थानमा यस टी२० लीगलाई मात्र प्राथमिकता दिने प्रवृत्ति चिन्ताको कारण बनेको उल्लेख गरेका थिए। उनले लेखेका छन्, केही खेलाड़ीहरूले घरेलु क्रिकेटको स्थानमा आईपीएललाई प्राथमिकता दिन शुरु गरेका छन्। यो एउटा प्रवृत्ति बनेर अघि आएको छ अनि यही हाम्रो निम्ति चिन्ताको विषय हो। घरेलु क्रिकेट त्यो आधार हो, जसमा भारतीय क्रिकेट उभिएको छ। हामीले घरेलु क्रिकेटलाई कहिले पनि कम्ती महत्त्व दिने प्रयास गरेका छैनौं। उनले अझ भने, घरेलु क्रिकेट भारतीय क्रिकेटको मेरुदण्ड हो अनि हामीले यस कुरालाई बुझ्नु पर्नेछ। यसले सालौंदेखि लगातार भारतीय टीमलाई नयाँ प्रतिभाहरू दिएको छ। भारतीय क्रिकेटको निम्ति हाम्रो दृष्टिकोण शुरुदेखि नै स्पष्ट रहेको छ। भारतको निम्ति खेल्ने इच्छा रहे खेलाड़ीहरूले पहिला घरेलु क्रिकेटमा आफ्नो क्षमता साबित गर्नु पर्नेछ । घरेलु टुनीमेण्टहरूमा कुनै पनि खेलाड़ीद्वारा गरिएको प्रदर्शनलाई चयन प्रक्रियामा धेरै महत्त्व दिइन्छ।