पत्रकारिता जनमुखी हुनुपर्छः उपसभामुख राना

upasabhamukh

विराटनगर (नेपाल): प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन्। सुनसरीको इटहरीबाट संचालित ‘प्रदेश खबर’ अनलाइनको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हरेक क्षेत्रमा पत्रकारको अहम् भूमिका रहने बताइन्। ‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारणपनि पत्रकारहरूसँग नजिक छु।’ उनले पत्रकारहरू नागरिक अधिकारका पैरवी गर्ने कलमजीवीहरू रहेको बताइन्। उपसभामुख रानाले भनिन्, ‘पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म निरन्तर जनताका आवाज मुखरित गर्नेहरूलाई सम्मान गर्नु सकारात्मक पक्ष हो। खासगरी पत्रकारिताका कारण भ्रष्टाचार शून्य बनाउन पनि सहज हुन्छ।’

उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन्। उक्त कार्यक्रमको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो। प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिवबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो। उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो। यसैगरी, उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार विसं २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपियाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो। यस्तै, पर्यटनको क्षेत्रमा योगदान पुर्याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो। यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *