विराटनगर (नेपाल): सन्तकवि ज्ञानदिल दासको जन्मभूमि इलामको फाकफोकथुम गाउँपालिकामा ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ आयोजना हुने भएको छ। फाकफोकथुम गाउँपालिका-३, आमचोकमा २३ र २४ फरवरी (फागुन ११ र १२ गते)मा सम्मेलन आयोजना गरिने भएको हो। त्यसका लागि ज्ञानदिल दास प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ। ज्ञानदिल दासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा पुर्याएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ। सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वबारे अन्तरक्रिया गरी अभिलेख गरिने फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए।
सम्मेलनको पहिलो दिन ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिल दासको सालिक अनावरण र ज्ञानदिल दासबारे भारतको सिक्किम राज्यकाका अन्वेषक वीर बलिभद्र कार्की ‘डोली’ले संकलन गरेको पुस्तक सार्वजनिक हुनेछ। दोस्रो दिन ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस हुनेछ। ज्ञानदिल दासको जीवनीसम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी छेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ। सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको डकुमेन्ट तयार गरी सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालले बताए। ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्म जागरण र अभियानका सशक्त सन्तकवि मानिन्छन्। उनको जन्म सन् १८२१ मा फाकफोकथुम-३ आमचोक जोरधारमा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो।
ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विरुद्ध विद्रोह गरेका थिए। जोसमनी सन्त परम्पराको प्रचारप्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वार्ध नेपालमा र उत्तरार्ध भारतको दार्जीलिङ र सिक्किममा बिताएका थिए। उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा ९ नोभेम्बर १८८३ (वि.स. १९४० कात्तिक २५) भएको थियो।









