खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिका अध्यक्ष अनित थापाको निर्देशनमा मिशन जागरण कार्यक्रम शुरु भएको छ। त्यसै अनुरुप पहाड़काे जनतालाई जागरुक बनाउनको निम्ति घर दैलोमा पुगेर सचेतना गराउँदै जनता जागे समाज जाग्छ भन्ने नारासितै मिशन जागरणकाे सांगठनिक सभा खरसाङ टाउनमा पनि सम्पन्न भएको छ। उक्त मिशन जागरण सभा कमिटीका कार्यवाहक अध्यक्ष सन्दिप बलको अध्यक्षतामा वार्ड नम्बर १९ को सार्वजनिक भवनमा वार्ड नम्बर २० लाई लिएर सभा सम्पन्न भयो। सभाकाे सञ्चालन गर्दै खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रीनले सबैलाई स्वागत जनाए। यसै क्रमलाई अघि बढाउँदै टाउन कमिटीका कोषाध्यक्ष राजेन प्रधानले स्वागत सम्भाषण राखेका थिए। सभामा प्रथम वक्ताकोे रूपमा केन्द्रीय नारी शक्तिका अध्यक्षा तथा खरसाङ खण्ड पञ्चायत समितिका सभाधिपति अनु प्रधानले याे सभा केन्द्रीय अध्यक्ष अनित थापाकाे आदेश अनुसार जनतालाई जागरुक गर्न हेतु मिशन जागरणलाई अघि बढाउन वार्ड नम्बर २० बाट थालिएको बताइन्। उनले शुरूदेखि खट्दै नारी शक्तिलाई अझै बलियो बनाउनको निम्ति केद्रीय अध्यक्षको आदेश पालन गर्दै देवकी प्रधान सुब्बालाई संयोजिका नियुक्त गरिएको बताइन्। सभामा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले केन्द्रीय अध्यक्ष अनित थापाकाे निर्देशलाई पालन गर्दै टाउन कमिटी प्यारेन्ट्स बडीको अगवाईमा भईरहेको जागरण मिशनलाई घर घर गएर भारतीय जनता पार्टीको पहाड़प्रतिकाे कोल्टे सोचसँग अवगत गराउनु हाे भन्दै नगरपालिकाकाे विभिन्न विषय अनि कार्यहरुकाे जानकारी दिएका छन्। सभामा केन्द्रीय समितिका कार्यकारिणी सदस्या आशा मुखियाले अनित थापाकोे अगुवाईमा खरसाङमा आईटी हब बनिनु गइरहेछ जुन हाम्रो पहाड़कोे निम्ति ठूलो उपलब्धि हाे। त्यसैले यहाँकाे युवाहरूलाई राम्राे अवसर प्राप्त हुनेछ। खरसाङमा बनिन गइरहेका १२० बेडकाे हस्पतालकाे पनि जानकारी दिँदै हाम्रो पहाडको सर्वाङ्गीण विकासकाे निम्ति पहाड़काे क्षेत्रीय पार्टीलाई बचाएर राख्नुपर्छ भन्दै वक्तव्य राखिन्।

सभामा टाउन कमिटी नारी शक्तिका संयोजिका देवकी प्रधान सुब्बाले नारी शक्तिलाई अझैं बलियो तथा व्यवस्थित बनाउनकोे निम्ति अनित थापाले दिएको जिम्मेवारीलाई सह हृदयले पूरा गर्ने प्रयास गर्नेछु भन्दै संयोजिकाकोे पदभार दिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई मञ्चबाटै धन्यवाद दिइन्। यसको साथै संगठनलाई सङ्गठित बनाउन नारी शक्तिलाई सक्रिय भएर कार्य गरिदिने आह्वान गरिन्। अन्त्यमा सभाका सभाध्यक्ष तथा टाउन कमिटीका कार्यवाहक सभापति सन्दीप बलले सम्भाषण राख्दै सबैलाई धन्यवाद दिएका छन्।सभामा केन्द्रीय समितीका सदस्या मैया ठकुरी, जैतुन निशासँगै महकुमा समितिका उपाध्यक्ष शंकर राउत, २९ नम्बर समष्टीका मूल सचिव भक्तिमान तामाङ, टाउन कमिटीका सह सचिव सञ्जय मुखिया, सांगठनिक साचिव रञ्जन गजमेर सल्लाहकार भोला राउत लगायत अन्यहरू उपस्थित रहेका थिए।