इण्डियन इभानजेलिकल चर्चका ८० सदस्यहरू एसकेएम पार्टीमा सामेल

नाम्ची: नाम्ची जिल्ला अन्तर्गत भञ्ज्याङस्थित इण्डियन इभानजेलिकल चर्चका ८० सदस्य राज्यको सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। भञ्ज्याङमा आयोजित एउटा कार्यक्रममाझ उनीहरू एसकेएम पार्टीमा सामेल भए। यस अवसरमा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम, एसकेएम नाम्ची जिल्लाका अध्यक्ष टेनी डोमा भोटिया, नाम्ची नगरपरिषद्का पार्षद पेमनर्बू भोटियाको विशेष उपस्थिति थियो। चर्चका सदस्यहरूले एसकेएम पार्टीको सदस्यताका लागि लिखित अर्जी चढ़ाएपछि पार्टीले ८० जना सदस्यहरूलाई आफ्नो दलमा सामेल गराएको हो। एपीएस अञ्जिता राजालिमसहित पार्टी नेतृत्वहरूले उनीहरूलाई पार्टीको झण्डा थमाए।

मुख्यमन्त्री पीएस गोलेको राजनीतिक दृष्टिकोण, शून्य शत्रुको नीति अनि कुशल नेतृत्वलाई आत्मसात गरी सत्तारूढ़ दलमा सामेल हुने सोंच बनाएको चर्चका सदस्यहरूले मन्तव्य पोखे। अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिमले उनीहरूलाई पार्टीमा स्वागत जनाउँदै एसकेएम सरकार अनि मुख्यमन्त्री पीएस गोलेको कार्यशैली र शासन व्यवस्थामा आस्था राखेर दलमा सामेल हुने उनीहरूको निर्णयको सराहना गरिन्।

राजालिमले राजनीतिक भेदभाव नराखी सिक्किम र सिक्किमका नागरिकको विकास, प्रगति र सुरक्षाका लागि सबैलाई समेटेर काम गर्ने मुख्यमन्त्री गोलेको नीतिले जनमानसमा नयाँ विश्वास र उत्साह जागेको बताइन्। उनले पार्टीमा सामेल हुने नयाँ सदस्यहरूको समर्थन र विश्वासलाई पूरा गर्न पार्टी र सरकार दुवै पक्षबाट सहयोग गर्ने वचन दिइन्। उनले नयाँ सदस्यहरूलाई सरकारको विभिन्न जनमुखी योजना र कार्यक्रमहरूबारे जानकारी दिँदै यसको लाभ लिन आह्वान गरिन्। पार्टी प्रवेशको कार्यक्रमलाई दक्षिण जिल्ला अध्यक्ष टेनी डोमा भोटिया, नगरपार्षद पेम नर्बू भोटियाले पनि सम्बोधन गर्दै नयाँ सदस्यहरूको प्रवेशले पार्टीलाई थप बल मिल्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement