खरसाङ: महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को विशेष सहयोगमा आयोजन गरेको प्रतिष्ठित गोर्खा चेली फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स, सोरेङ्ग (सिक्किम)-को टीम च्याम्पियन बन्यो। उत्तर बंगालको सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टअन्तर्गत आइतवार दर्शकहरूका उत्साहजनक उपस्थितिबीच स्थानीय चानमारी खेल मैदानमा खेलिएको एकतर्फी फाइनलमा सोरेंगको स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स टीमले तमिलनाडु पुलिसलाई सजिलैसँग ५-० ले पराजित गर्यो। विजेता टीमबाट सिमरन गुरुङ र सुष्मिता लेप्चाले २-२ गोल गरिन्। यसबाहेक एक गोल लक्ष्मी तामाङले गरिन्। म्याचको दुवै हाफमा सिक्किमको टीमले विपक्षी टीमलाई दबाउमा राख्यो। फाइनलमा मुख्य अतिथिको रूपमा जीटीए-का प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः गोर्खा चेली फूटबल टुर्नामेण्ट
च्याम्पियनः स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स, सोरेंग (सिक्किम)
रनरअपः तमिलनाडु पुलिस
प्लेयर अव् द म्याचः सुष्मिता लेप्चा (स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स, सोरेंग)
प्लेयर अव् द टुर्नामेण्टः नमिता (स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स, सोरेंग)
हाईएस्ट गोलस्कोररः सिमरन गुरुङ (स्टेट स्पोर्टस एकाडमी फर गर्ल्स, सोरेंग)
बेस्ट गोलकीपरः सुष्मिता पुन (तमिलनाडु पुलिस)








