चौथोपल्ट सम्हाल्ने छन् अध्यक्ष पदको कार्यभार
गान्तोक: प्रेस क्लब अफ सिक्किमले आइतबार एघारौं कार्यकारिणी समितिको चुनाव सफलतापूर्वक सम्पन्न गऱ्यो। १२ सदस्यीय कार्यकारिणी टोलीमा तीन उपाध्यक्ष र एक अध्यक्षका लागि आज चुनाउ भएको हो। तीमध्ये १० पदमा अगावै निर्विरोध भएको थियो। अध्यक्षको निर्वाचनमा वरिष्ठ पत्रकार भीम राउत र धनमाया न्यौपानेबीच प्रतिस्पर्धा भएको थियो जसमा राउत ७४ मत ल्याएर विजयी भएका छन्। धनमाया न्यौपानेले ४३ मत ल्याएका थिए। अध्यक्षको रूपमा भीम राउतको यो चौथो कार्यकाल हो। त्यस्तै उपाध्यक्षको तीन पदका लागि रविन शर्मा, विकास क्षेत्री र रुद्र कौशिक विजयी भएका छन्। निर्विरोध उम्मेदवारहरु मध्ये कार्याध्यक्षमा समिरहाङ लिम्बू, महासचिवमा डिल्लीराम दुलाल, कोषाध्यक्षमा जगननाथ दाहाल, सहकोषाध्यक्षमा सुष्मा छेत्री, संस्कृति सचिवमा निर्मल मंगर, खेलकुदमा विष्णु न्यौपाने साहित्य सचिव, सुकराज राई र पंकज ढुंगेल प्रचार सचिवका रुपमा छयन भएका छन्। सोनाम जी भोटियाको अध्यक्षतामा निर्वाचित निर्वाचन समिति, निमा तामाङ र सदस्य वाङ्चुक भोटियाद्वारा नवनिर्वाचित समितिलाई प्रमाण पत्र हस्तान्तरण गरियो। निर्वाचन प्रक्रियामा सिक्किम सरकारका सूचना एवं जनसम्पर्क विभागका अधिकारी राज शर्मा पर्यवेक्षकका रुपमा थिए।
पीसीएसको नवनिर्वाचित कार्यकारी समितिको कार्यकाल २०२४ देखि २०२६ सम्म रहने बताइएको छ।










