गान्तोक: राजभवनमा आयोजित हाम्रो संकल्पः विकसित भारत पुष्पित सिक्किम कार्यक्रमको दोस्रो दिन आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मेगा रक्तदान शिविरको उद्घाटन गरे। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको निर्देशनमा मेगा रक्तदान कार्यक्रम सप्ताहव्यापी कार्यक्रमको एक महत्वपूर्ण भाग हो।

यस अवसरमा एसटीएनएम र मणिपाल अस्पतालका चिकित्सा विशेषज्ञहरुको निगरानीमा मेगा रक्तदान सम्पन्न गरियो। कार्यक्रममा उत्साही व्यक्ति र समूहहरूको ठूलो सहभागिता देखियो, जसले यस महान प्रयासको लागि उनीहरूको समर्थन र प्रतिबद्धता देखाउँदछ। रक्तदान कार्यक्रममा आईटीबीपी जवान, भारतीय सेना, गैरसरकारी संस्थाहरू, केन्द्र र राज्य सरकारका विभिन्न विभागका अधिकारीहरू, विभिन्न शैक्षिक संस्थाहरू, राजभवनका अधिकारी र कर्मचारीहरू र स्थानीय जनताको सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रमको उद्घाटन गरेपछि राज्यपाल लक्ष्मणप्रसाद आचार्यले रक्तदाताहरुसँग अन्तरक्रिया गर्दै उनीहरुको निःस्वार्थ कार्यका लागि धन्यवाद ज्ञापन गरेका थिए। उनले डाक्टर र सहयोगी स्टाफलाई पनि भेटे र उनीहरूको उपस्थिति र सहभागिताको लागि हार्दिक आभार व्यक्त गरे।









