सिलगढी: गोर्खाल्याण्ड आन्दोलनको ऐतिहासक तथ्याङ्कनसहित दार्जीलिङ निवासी भोटू सिंह छेत्रीद्वारा लेखिएको ६०० पृष्ठको ग्रन्थ ‘चक्रव्यूहमा गोर्खा’ विश्व पुस्तक मेला,नयाँ दिल्लीमा विधिवत लोकार्पित भएको जानकारी बुकएण्ट, सालबारीले दिएको छ। ११ फरवरी २०२४-को दिन विश्व पुस्तक मेलाको लेखक मञ्च, हल-२, प्रगति मैदान, नयाँ दिल्लीमा ‘आदिवासी फर्स्ट नेसन्स बुक अखड़ा’द्वारा आयोजित एक आदिवासी विमर्श अनुष्ठानअन्तर्गत वन्दना टेटे (राँची, झारखण्ड), यशोदा मुर्मू (झारखण्ड), धान्य के केरल), साजिया चौधरी (जम्मू), विशु रीता कोरचा (नागाल्याण्ड), जिम डब्ल्यु कासोम (मणिपुर), डा. तुकाराम रोङ्गटे (महाराष्ट्र), डा. गङ्गासहाय मीणा (राजस्थान), बरनाबास असुर (झारखण्ड)को उपस्थितिमा भोटु सिंह छेत्रीद्वारा लिखित गोर्खा ग्रन्थ ‘चक्रव्यूहमा गोर्खा’को दिल्ली लोकार्पण सम्पन्न भएको हो।
विगतमा गरिएको गोर्खाल्याण्ड आन्दोलनमा १२ सयभन्दा बढ़ी शहीद र सयौँ पहाडवासी बेपत्ता भएर पनि र पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको राजनैतिक चिह्नारी गोर्खाल्याण्ड आन्दोलनको मुद्दालाई किताबले सम्बोधन गरेको छ। लेखकले ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिन्हारीको पाइला प्रान्त परिषद हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अडकिएको वृत्तान्त दिँदै ‘भारत-नेपाल शान्ति एवं मैत्री सन्धि १९५०’को वितर्कित ‘धारा ७’अन्तर्गत रेसिप्रोकल’ मुद्दाको तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्ने सुवास घिसिङको राजनैतिक उत्थान-पतनको विस्तृत लेखाजोखा गरेका छन्। २२ अगस्त १९८८-मा घिसिङले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाएपछि गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर आन्दोलनदेखि विमुख भएको उल्लेख गर्न भ्याएका छन्।
चार खण्डमा लेखिएको यस महत् ग्रन्थमा एकातिर, कांग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याईको क्रमबद्ध चर्चा छ भने अर्कोतिर, भाजपाले निरन्तर लोकसभा सासंद आसन सुनिश्चित गर्न कसरी केन्द्रीय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे गोर्खा समुदायमाथि हालेको छ, त्यसको समेत विमर्श गरेका छन्। लेखकले यस कृतिमा डा. विधानचन्द्र रायको पालोदेखि चलेको ‘पपुलेसन-गेम’अन्तर्गत गोर्खा समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य-प्रायोजित कुचक्र रहेको दस्तावेजसहित प्रमाण गरेको छन्। किताबको निष्कर्षमा पहाड़का गाउँबस्तीमा होम-स्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान, चियाकमानमा हुलिएको टी-टुरिजम-ले कसरी गोर्खा समाज अल्पसंख्यक बन्दै जाने र गोर्खा पहिचानको मुद्दा कसरी सङ्कटतिर धकेलिने सम्भावना चुलिएको छ भन्ने अड़ान राखेका छन्।
बुकएण्टको पक्षमा निर्देशक सुरज गुरुङले बताएका छन्, ‘विरलकोटिको दस्तावेजीकरणले कृति तार्किक रूपले बलियो भएको छ। आन्दोलकालमा लेखकको आफ्नै साक्षात् अनुभवहरूको विवरणले कृतिको सत्यापन भएको छl’ गोर्खाल्याण्ड आन्दोलनको विश्वस्त राजनैतिक दस्तावेजीकरण मान्न सकिने ‘चक्रव्यूहमा गोर्खा’ ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहेरिस्त हो। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्रीको यस बृहत् ग्रन्थमा लेखकले केन्द्रीय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’ -मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक न्यारेटिभलाई पाठकका लागि अघि ल्याएका छन्।
१२ जून १९५२-मा दार्जीलिङमा जन्मिएका भोटू सिंह छेत्री दार्जीलिङको राजनैतिक परिवेशमा बौद्धिक रूपले सक्रिय व्यक्तित्व हुन्। १९८६-को गोर्खाल्याण्ड आन्दोलनको आरम्भिक कालदेखि जोड़िएका बुद्धिजीवी भएको नातामा दार्जीलिङको राजनीतिमा बुनियादी सक्रियता राख्ने महत्त्वपूर्ण गोर्खाल्याण्ड ‘बौद्धिक-एक्टिभिस्ट’ कहलाइने हैसियत राख्छन्। गोर्खाहरूको चिन्हारीको मुद्दामा गहिरो अभिज्ञता राख्दै सुनचरी समाचार, सुनाखरी समाचारलगायत विभिन्न पत्र-पत्रिकामा राजनैतिक रचनाहरू प्रकाशित गराएका छन्। गोर्खा नेशनल लिबरेशन फ्रण्ट, गोर्खा लिबरेशन फ्रण्ट र दार्जीलिङ सिभिल सोसाइटीका संस्थापक सदस्य रहेका हुन्। १९७६-देखि २०१२सम्म दार्जीलिङ नगरपालिकामा सेवा पुऱ्याएका हुन्। ‘चक्रव्यूहमा गोर्खा’ यिनको पहिलो पुस्तक हो।
प्रकाशनगृह बुकएण्टको पक्षमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार आँउदो २५ फरवरीको दिन बुकएण्ट, सालबारीमा ‘चक्रव्यूहमा गोर्खा’को गृह-लोकार्पण आयोजित गरिने छ। कृतिको अंग्रेजी संस्करणको पनि तयारी चलिरहेको समेत जनाइएको छ। ऐतिहासिक गैर-आख्यान ‘चक्रव्यूहमा गोर्खा’को आवरण पेमा शेर्पाले डिजाइन गरेका छन्, जसको मूल्य रु. ६९९ राखिएको छ। कृति दार्जीलिङ, कालेबुङ, मिरिक, खरसाङ, डुवर्स, सिक्किमलगायत कलकत्ता र काठमाडौंमा समेत उपलब्ध रहनेछ। साथै,एमाजोनमा पनि अनलाइन अर्डर गर्न सकिनेछ। विज्ञप्तिमा अझ जनाइएअनुसार, बुकएण्टबाट प्रकाशित नेपाली, हिन्दी, भुटिया र अंग्रेजी पुस्तकहरू दिल्ली विश्व पुस्तक मेलामा राखिएका छन्। विश्व पुस्तक मेला १८ फरवरीसम्म चल्नेछ।









