मिरिक: पंचमीकोपावन अवसर पारेर सधैं झैं यसवर्ष पनि मिरिक महकुमाअन्तर्गत थर्बु चियाकमान एक्काईस नम्बरमा रहेको पवित्र देवीस्थानमा श्रद्धा अनि भक्तिका साथमा देवी पूजा पालन गरियो। थर्बु चारनम्बर गाउँ,नन्दलाल गाँउ अनि नौ माइल गाँउको संयुक्त आयोजनामा युगौंदेखि पालन गरिन्दै आएको देवी पूजा यसवर्ष पनि धार्मिक परम्पराअनुसार पालन गरियो। पुजारीहरू दिपक शर्मा अनि निश्चल प्रधानको मन्त्रोच्चारण साथमा पालन गरिएको देवी पूजामा तीनवटा गाँउका भक्तजन लगायत जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो। यस अवसरमा विश्व शान्तिको कामना गर्दै एक जोडी परेवा पनि उडाईयो। आयोजक समितिका तिलक प्रकाश राईले परमपूर्वकालदेखि पूर्खहरूले विश्व अनि गाउँमा शान्तिको कामना साथै गाँउघरमा हैजा रोग नलागोस,फसल राम्रो होस् भन्ने मनोकामनाको साथ देवीस्थानमा पुजा अर्चना गर्ने गरेको परम्परा आज पनि याथवत राख्दै देवी पूजा गरिएको बताए। तिनले गाउँ गाउँ मिलेर गर्ने उक्त देवीपूजालाई धुरी पूजा भन्ने पनि चलन रहेको जानकारी गराँउदै यहाँ बर्षमा एकचोटी परम्पराअनुसार पूजा गरिएपछि गाउँ घरमा सुख, शान्ति, सम्वृद्धि छाउने सबैको विश्वास रहेको बताए।