अजय एडवर्डक सहयोगमा बिजनबारी क्षेत्रको बालुवाबास खोलामाथि ब्रिज निर्माण कार्य शुरु

IMG-20240215-WA0196.jpg

बिजनबारी: आजदेखि बिजनबारी क्षेत्रको बालुवाबास खोलामाथि ब्रिज निर्माणको कार्य शुरु भएको छ। यो निर्माण कार्यले सोम, सिङ्ताम र चुङथुङ कमानका वासिन्दाहरुको दीर्घकालदेखिको सपना पूरा हुने भएको छ। यो यस क्षेत्रको चारवटा चियाबारीहरू चुङथुङ, लिजाहिल अनि सोम र सिङताम चियाबारीको फेदीमा पर्दछ। चारवटा चियाबारी क्षेत्रलाई जोड्ने बालुवाबास खोलामाथि अहिलेसम्म गाड़ी आऊ जाऊ गर्न सक्ने कुनै ब्रिज निर्माण भएको थिएन।

विगत २००३ सालमा पूर्व सांसद एसपी लेप्चाले आफ्नो सांसद कोषदेखि ब्रिज निर्माण गर्ने कार्य शुरू गरेका थिए। तर त्यो कार्य पाँचवटा पिलर मात्र निर्माण भएर अधुरो अवस्थामा रहेको बताइएको छ। अहिले हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डले आफ्नो प्रयास अनि सहयोगमा ब्रिज निर्माण गर्ने कार्य शुरू भएको छ। आज निर्माण कार्यको पहिलो दिन स्वयं उपस्थित भएर उनले गिटी समेत कुटेका थिए। यस दिन एडवर्डले कुनै राजनैतिक भेदभाव नराखी सबै आम नागरिक भएर यस ब्रिज निर्माणको लागि अघि आउनु पर्ने अनुरोध पनि गरेका छन्। यो ब्रिज निर्माणले कुनै एक क्षेत्रका मानिसहरूलाई मात्र सुविधा नभएर समग्र पुल बिजनबारीदेखि लिएर वरिपरिका कमानका वासिन्दाहरुलाई सुविधा पुग्ने बताए।

यस दिन चुङथुङ, लिजाहिल, सोम र सिङतामदेखि समाजका सभापति सचिवहरुको उपस्थिति रहेको थियो। नव निर्माण समाजका सचिव सौरभ राई, नव कोरस क्लबका सचिव महेन्द्र राईले यो ब्रिज निर्माण भएपछि सबैलाई सुविधा हुने जनाउँदै बालुवाबास क्षेत्र नै धेरै उज्यालो र रमाईलो भएर जाने बताए। यसरी नै सिङतामदेखि सुरज तामाङ, मोती तामाङले पनि यस कार्यको सराहना गर्दै सबै एकजुट भएर निर्माण कार्यलाई पुरा गर्नुपर्छ भन्ने विचारहरु अभिव्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *