[भ्यालेन्टाइन डे विशेष] प्रणय दिवस 

Web-post1

भारतमा भ्यालेन्टाइन डे पसेपछि पारपाचुके परिमाण (divorce rate) धेरै बढेको छ। आत्मिक प्रेम घटेको छ, मांसल प्रेम बढेको छ। प्रेम भनेको गहन अनुभूति र तीव्र स्नेह हो। प्रेम स्वयंमा व्यापक, विराट् वा शक्तिशाली अनुभूति हो। प्रेम जागृत हुनबित्तिकै आत्माको अनुभूति हुँदछ। प्रेमको अनुभूति जाग्रत नभएमा सबै निर्जीव, आनन्दरहित र जड़ लाग्ने हुँदछ तर प्रेम जागरित भएमा सबै प्रफुल्लित, दिव्य, चैतन्य अनि आलोकमय बन्दछ। प्रेमका विभिन्न रूप हुँदछन् – १. वात्सल्य (सन्तानप्रति आमा-बाबुको प्रेम), २. स्नेह (आत्मीय व्यक्ति, वस्तु वा कुराका लागि मनमा उत्पन्न हुने प्रेम), ३. माया (जीवनलाई बन्धनमा राख्ने भ्रमपूर्ण प्रेम), ४. मोह (सांसारिक जञ्जाल वा प्रपञ्चप्रति आसक्तिपूर्ण प्रेम), ५. ममता (म वा मेरो भन्ने प्रेम), ६. प्यार (प्रिय पात्रप्रति प्रेम), ७. अनुराग (कसैप्रति वा कुनै कुराप्रति हुने आकर्षण र आसक्ति भएको प्रेम), ८. प्रणय / प्रीति / पिरती (प्रेमी-प्रेमिका वा नर-नारीबिच प्रेम)।

‘भ्यालेन्टाइन डे पनि हाम्रो सांस्कृतिक विस्थापन र अर्थशोषण नै हो’- दिप्र.

प्रेमबिना मानव जीवन कल्पना गर्नै सकिन्न। प्रेम गर्ने क्षमताले गर्दा नै सृष्टिको प्रारम्भिक अवस्थामा मान्छे बाँचे। मानव-प्रेम यौनकै पछि मात्र लाग्ने होइन। यौन प्रेमको एउटा प्रबल पक्षचाहिँ अवश्य हो। सामाजिक सद्भाव, पारिवारिक संगठन, जीवन-मोह र जिवाइलाई जीवन दिने आधार हो प्रेम। नर-नारीमाझ हुने प्रेम प्रबल भावावेश हो। यसले नर-नारी दुवैलाई ऊर्जा दिने कुरा सिद्ध छ किनभने प्रेम मानवको आदिम प्रवृत्ति हो। मानवधर्मको आधारको रूपमा प्रेम प्रतिष्ठित थियो तर तथाकथित स्थापित धर्मले बनाएका नीति-नियमले भने राम्रो प्रेमलाई चाम्रो बनाउँदै लगे। स्थापित धर्महरू बनिनुभन्दा अघिको लोक जीवनका गाथाले र त्यसपछि वेदले पनि कामबारे कुरा गरेकै छन्। प्राचीन गुफा वा प्रस्तर चित्र वा अभिलेखतिर प्रेमका अभिव्यक्ति पाइएकै छन्। संसारभरिका आदिवासी वा जनजातिहरूले प्रेमलाई देवी-देवताकै रूपमा मानेका प्रमाण पाइएका छन्। आर्यहरू आएपछि भारतमा प्रेमका लागि देव-देवी पनि स्थापित भए– कामदेव र रतिदेवी। काम र रतिको राजधानी वत्सगुल्म हो भन्ने मिथक रचना गरे। वेदको नैषधीय सूक्तमा कामबारे व्यापक चर्चा छ– “सृष्टिअघि सर्वत्र अँध्यारो थियो तर रात होइन, दिन बनिएपछि मात्र रात पनि बनियो।” विद्वान्‌हरूले यसलाई पुरुषबाट प्रकृतिको कामना भएको बुझे। त्यो अँध्यारोमा सत्य-असत्य, अमृत-मृत केही थिएन। त्यस्तो अवस्थामा ‘मनसो रेतः’ अर्थात् परमले काम शक्तिद्वारा ब्रह्माण्ड बनाए भनिएको छ। अथर्ववेदले त शारीरिक प्रेमबारे कैञौ ऋचा लोक जीवनबाट समेटेको पाइन्छ। शारीरिक प्रेमबारे प्राचीन कालमै शास्त्रसमेत रचिए– वात्स्यायनको कामशास्त्र (इसाब्द तेस्रो शताब्दी), कोक्कोक (कोका पण्डित)को रतिरहस्य (कोकशास्त्र) (सातौँदेखि दशौँ शताब्दीबिच), कल्याणमल्लको अनङ्गरङ्ग (लोदीकाल पन्ध्रौँ शताब्दी), र अरू थुप्रै। महाकाव्यकालमा त भन्नैपर्दैन, कति हो कति– वसन्तवर्णन, वर्षावर्णन, शरद्‌वर्णन। नाट्यशास्त्र र काव्यशास्त्रहरूले रतिका लागि शृङ्गार रस स्थापित गरिदिए। प्राचीनकालदेखि नै नगर परियोजनामा उद्यान र प्रेम स्थल बनाइन्थे।

प्रणयविषयक साहित्यका उदाहरण धेरै छन्। प्रणय वाधित भएको घटनाकै कारणले रामायण रचना भएको मानिन्छ – निषाद जातिका व्याधाले काममोहित मैथुनरत क्रौञ्चयुगलमध्ये भालेलाई मारिदिँदा पोथीको बिलौनाले विह्वल बनेका वाल्मीकिले रामायण लेख्ने प्रेरणा पाए। यक्ष जातिका नायक पत्नीदेखि टाडो बस्नुपर्दा मेघ माध्यमले सन्देश पठाएको वर्णन कालिदासको ‘मेघदूतम्’मा पाइन्छ। प्रेम नभएको हृदय श्मशान हो भन्ने कबीरदासले संसारमा आएर प्रेम नगर्नु मान्छे नभएको घरमा पाहुना लाग्नुजस्तै हो भन्ने दृष्टान्त दिएका छन्-

कबीर प्रेम न चक्खिया, चक्खि न लिया साव।

सूने घर का पाहुना, ज्यूँ आया त्यूँ जाव॥

हाम्रा कवि माधव घिमिरे हिमाली हृदय प्रेमैले आच्छादित भएको देख्दछन् –

आई कैल्यै पनि नसकिने चैत वैशाख मेरो,

लाई कैल्यै पनि नसकिने प्रीत नौलाख मेरो।”

अहिले भ्यालेन्टाइन डे भन्नेहरूलाई वात्स्यायन, कोक्कोक, कल्याणमल्ल, कालिदास, माघ, माधव कुन चराका नाम हुन् कुन! रोमन साम्राज्य इसाई नभई रोमको सैन्य अभियानविरुद्ध युवा-युवतीलाई रतिक्रियामा भुलाउने भ्यालेन्टाइनभन्दा धेरै जेठा प्रेम-प्रेरक भारतीय आचार्यहरू भारतमै ओझेलमा परे। वास्तवमा भ्यालेन्टाइन (इसाब्द २२६-२७०)को पालामा रोमन साम्राज्य इसाई भएको थिएन। रोमनहरू शक्ति सम्पन्न होऊन् भनेर राजा क्लेडियस द्वितीयले युवाहरूलाई सेनामा लाग्ने तर प्रेममा नभुलिने आदेश गरेका बेला राजाज्ञाविरुद्ध तरुणी-तन्नेरीहरूलाई उक्साएर प्रेम गर्न लाएर रोमन शासनलाई दुर्बल बनाउने काम भ्यालेन्टाइन पुरोहितले गरेका थिए। इ. ३१२-पछि रोमन राजा कन्सटेनटाइन पहिलो नै इसाई भएर रोमन साम्राज्यमा इसाई पन्थलाई राजधर्म घोषणा गरेको धेरैपछि इ. ४९६-मा मात्र उनलाई सन्त बनाइएको थियो। त्यस बेला भारतमा सन्त, योगी, कवि, आचार्य त कति थिए कति।

तत्कालीन भारतमा वसन्तोत्सव वा शरद् पूर्णिमा वा कार्तिक पूर्णिमालाई प्रणय दिवसको रूपमा मनाउँदथे। विराट् भारतवर्षका देश-देशमा प्रणय प्रस्तावनाका लागि यिनै दिवस तोकिएका थिए। अधिकांश हिन्दू युवा संन्यासी र बौद्ध युवा भिक्षु बनेका बेला देशमा प्रजाको अभाव हुँदा यस्ता दिवसलाई राजाश्रय पनि प्राप्त भए। प्रजासूत्र त रोकिनु हुँदैन भनेर यौनपूजा (कामपूजा) प्रोन्नत गर्ने हुँदा खजुराहो, कोनार्क आदि मन्दिर बनिए भने नेपालमा बनाइएका मन्दिरका टुँड़ालमा मन्तिर मैथुनरत प्रतिमा वा चित्र कुँदिए। तन्त्र साधना गर्ने शैव, शाक्त र वज्रयानीहरूले स्वयंसिद्धि मात्र नभई देशलाई प्रबल नागरिक उत्पन्न गर्ने युक्ति पनि दिएका छन्। मल्लकालीन नेपालले ‘मतिना पारू’ प्रेम दिवस मानेको थाहा लाग्दछ। नेवारहरू योमरि पुन्ही अर्थात् धान्य पूर्णिमाको भोलिपल्ट थिँल्ला गाः पारू (प्रतिपदा)लाई नेपाल भाषामा ‘मतिना पारू’ अर्थात् प्रेम दिवस माने। नेवारी अर्थात् नेपालभाषामा मतिना भनेको प्रेम हो। पारू भनेको दिन हो।

विराट् भारतवर्ष अर्थात् अहिलेको दक्षिण एशिया अहिलेको जस्तो संकुचित थिएन। ढुक्कै प्रेम गर्दथे। मोगलहरू आएपछि भने दक्षिण एशियामा शरीर ढाक्नैपर्ने वा पुरोहितको परामर्शबिना प्रेम गर्नु नहुने प्रथा बस्यो। उनीहरू आउनुभन्दा अघिको भारतवर्षका साहित्य, मूर्ति र चित्रहरू हेर्दा थाहा भइहाल्दछ। सोह्रौँ शताब्दीदेखि भने कान मात्र छेँड्न जान्ने दक्षिण एशियाली महिलाहरूले नाक पनि छेँड्नैपर्ने भए, देवीहरूका नाक पनि छेँड़े। यसरी पशुलाई जस्तै नाकडोरी लाइदिएर प्रेम अधिकार छिने। यति मात्र नभई विदेशी शासकहरूले देशी भरौटेहरूका भरमा नर-नारीको समानतामा विभेद ल्याउने, वर्ण व्यवस्थालाई हिन्दू समाजमा भेदका रूपमा ग्रहण गराउने, नारी र शूद्रलाई हेप्ने, डग्ने प्रथा बसाए भने पुरोहित र कविहरू लगाएर जनतालाई भक्तिमा डुबाइराख्ने निदेश दिए। वसन्तोत्सव सरस्वती पूजा भयो, प्रेम पर्व कोजाग्रज पूर्णिमा भयो, रास लीला कार्तिक पूर्णिमाको भजन-कीर्तन भयो।

भरोटेहरूका भरमा विदेशीहरूले बाल विवाह, सतिप्रथा प्रोन्नत गरे। नारी र शूद्रले साहित्य, संगीत, नाटक आदि मनोरञ्जनमा भाग लिन नपाउने बनाए, शिक्षादेखि वञ्चित गराए। संस्कृत शृङ्गारिक नाटक प्रदर्शन लुप्तप्रायः भयो । राजप्रासादमा जनगणले हेर्न नपाउने फारसी र हिन्दुस्तानी उर्दू नाटक हुने भए। त्यत्ति बेलै त हो भारतमा लोक नाटकहरू जन्मेका– तेलुगुमा कचिपुड़ी, मराठीमा तमासा र लावणी, उत्तरमा रामलीला, नेपालीमा मारुनी आदि। ती लोक नाटकमा नरले नै नारीको भूमिका लिनुपर्ने। कति सुधारवादी अङ्ग्रेज आएर नारी सशक्तीकरण, सामाजिक कुप्रथा निराकरण आदि उत्थानका कुरा गरे तर प्रशासनले चाहिँ वर्णभेद यथावत् राख्ने युक्ति गरे। वर्णभेद हटे भारतीय एक हुनेछन् भन्ने आन्तरिक भय उनीहरूसित छँदै थियो।

भारतीय सुधारकहरूले प्राचीन भारतीय मूल्य चिनाउने प्रयास गर्दा पनि अधिकांश भारतीयले पत्याएनन्। उनीहरूले प्रेमको प्रचार पनि गरेकै थिए। भारतीयले मानेनन्। राणाको पालामा नेपाल अझ अटेरी भयो। पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’मा दिएका स्वदेशी मन्त्र राणाहरूले लत्याए, खाँ वस्ताद (संगीत शिल्पी) राजप्रासादमा हुले, उर्दू र फारसी नाटक गर्न लखनऊका मुसलमान कलाकार झिकाए, हिन्दूस्तानी संगीत सिके। राजप्रासादलाई दरवार भन्न लागे अनि दरवारमा दरवारी भाषा बोल्ने भए। कस्तो दरवारी भाषा भनेको भने दिल्ली दरवारको अरबी-फारसी जस्तो। बालकृष्ण समले राखेको स्वदेशी कलाको प्रस्ताव उपेक्षा गरे। नेपालीको नाममा नेपालको सरकारी कामकाज अरबीमा गर्ने भए। अहिले आएर त अझ नेपालमा नेपाली भाषा लेख्नेहरूले अरबी, फारसी, उर्दू शब्द चलाउन हानथाप गर्ने भए। कतिजनाका लेखाइमा त क्रियापद मात्र नेपाली हुन्छ, अरू सरोकार, हालाँकी, बाबजूद, शिफारिश, पहिचान, बच्चा – केके हो केके।

भारत स्वतन्त्र भएपछि पनि विदेशी धर्म र भाषाको प्रभाव भारतमा रहिरह्यो। विदेशी धर्म र भाषाले भनेका कुरालाई श्रेष्ठ ठान्ने तर आफ्ना राम्रा कुरालाई मान्न संकोच गर्ने दास मानसिकताले गर्दा प्राचीन भारतीय मूल्य र मान्यताको पुनरुद्धार बाधित भए। प्रणय दिवस पनि आफ्नैमा थियो भन्ने बिर्सेको बेला ठिक्क बहुराष्ट्रिय कम्पनीहरूले भ्यालेन्टाइन डे थोपरिदिए। १९९० पछि खुल्ला विपणि अर्थनीति लागु भएपछि बहुराष्ट्रिय कम्पनीहरूले यस्ता नव-नव दिवसहरूका नाममा सामग्री बेच्ने भए। भ्यालेन्टाइन डे पनि हाम्रो सांस्कृतिक विस्थापन र अर्थशोषण नै हो।  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *