किसान आन्दोलन: शम्भु सीमामा फेरि अश्रुग्यास प्रहार, घाइते किसानसँग राहुल गान्धीले गरे कुराकानी

Patiala: Farmers move away after police fired teargas shell to disperse them during their 'Delhi Chalo' march at Punjab-Haryana Shambhu border, near Patiala, Tuesday, Feb. 13, 2024. (PTI Photo)(PTI02_13_2024_000089B)

चण्डीगढ: किसान आन्दोलनका कारण हरियाणाको अम्बालाको शम्भु बोर्डर युद्धको मैदान जस्तै बनेको छ। आन्दोलनको दोस्रो दिन पनि शम्भु नाकामा किसानहरू उभिएका छन्। यहाँ पुलिसले राति २ बजेसम्म अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि बुधबार बिहान ८:०५ बजे पुलिसले फेरि अश्रुग्यास प्रहार गरेको थियो। अहिले शम्भु नाकामा उभिएका किसानहरूलाई अगाडि नजान निर्देशन दिएको हुनाले किसान नेता सरवनसिंह पन्धेरले पत्रकार सम्मेलन गरी थप रणनीति तय भएपछि मात्रै दिल्ली जाने बताएका छन्। अहिले किसानहरू शम्भु नाकामा बसेर आफ्ना किसान नेताहरुको अर्को पाइलाको प्रतीक्षामा छन्। समाचारअनुसार, मंगलबार राति किसानहरूले शम्भु नाकामा रोकेर यहाँ खाना र पानी खाएका थिए। यहाँ किसानहरूले बिहानको चिया-खाजा पनि खाएका थिए। यसैबीच बुधबार बिहान पञ्जाबी गायक रेशमसिंह अनमोल पनि शम्भु सीमामा पुगेर किसानहरूसँग कुराकानी गरेका छन्। घटनास्थलमै उनले क्षतिग्रस्त ट्रयाक्टरको मरम्मत खर्च व्यहोर्ने घोषणा गरेका छन्। यसपटक किसान आन्दोलनको समर्थनमा शम्भु बोर्डर पुग्ने उनी पहिलो पञ्जाबी गायक हुन्। कांग्रेस नेता राहुल गान्धीले राजपुराको अस्पतालमा भर्ना घाइते किसानहरूसँग फोनमा कुरा गरे। पञ्जाब कांग्रेसका अध्यक्ष राजा वाडिङले राहुल गान्धीलाई किसानहरूसँग कुरा गर्न लगाए। यसै क्रममा आफूलाई छर्राले लागेको किसानले बताए। उनको आँखा नजिकै चोट लागेको बताइएको छ। घाइते किसानले आफू सेनाबाट अवकाश लिएको बताए। यस क्रममा राहुल गान्धीले किसानहरूलाई कांग्रेस पार्टी आफ्नो साथमा रहेको बताए।

पञ्जाबका स्वास्थ्यमन्त्री डा. बलबीर सिंहले संचारमाध्यमसँग कुरा गर्दै सबै अस्पतालहरूलाई सतर्क रहन निर्देशन दिइएको बताए। शम्भु सीमा नजिकैको राजपुरास्थित राजेन्द्र अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफ तयार रहेको उनले बताए। पलङ र औषधिको पूर्ण व्यवस्था मिलाउन सबैलाई निर्देशन दिइएको छ। दुई दर्जनभन्दा बढी किसान त्यहाँ पुगेर उपचार गराइरहेका छन्। मन्त्रीले कृषकलाई राम्रो स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको र सधैं किसानको साथमा रहेको बताए। मन्त्रीले आफू राजपुरा गएर उपचार गराइरहेका घाइते किसानलाई भेट्ने बताए। अर्कोतर्फ, हरियाणा सरकारले अब अम्बाला, कुरुक्षेत्र, कैथल, जिन्द, हिसार, फतेहाबाद र सिरसामा १५ फरवरीसम्म मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ। किसान नेता सरवनसिंह पन्धेरले शम्भु सीमामा पत्रकार सम्मेलन गर्दै आजको दिन इतिहासकै कालो दिन भएको बताए। सरकारले किसानहरूमाथि हमला गरेको उनको भनाइ छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement