कलकत्ता उच्च अदालतद्वारा सन्देशखालीमा धारा १४४ लगाउने आदेश खारेज

Kolkata-High-Court-2

कोलकाता: कलकत्ता उच्च अदालतको एकल न्यायाधीशको बेन्चले मंगलबार पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा धारा १४४ लगाउने आदेशलाई खारेज गरेको छ। तृणमूल कंग्रेसका फरार नेता शेख शाहजहाँ र उनका सहयोगीलाई पक्राउ गर्न माग गर्दै गत बिहीबारदेखि सन्देशखालीमा महिलाहरूले विरोध प्रदर्शन गरेपछि क्षेत्रमा तनाव उत्पन्न भएको थियो। धारा १४४ लगाएको अधिसूचनालाई खारेज गर्न तर्क गर्दै, न्यायमूर्ति जय सेनगुप्ताको एकल न्यायाधीशको इजलासले भन्यो, ‘यस्तो निषेधात्मक आदेश अव्यवस्थित क्षेत्रको रूपमा पहिचान गरिएका ठाउँहरूमा मात्र जारी गर्नुपर्छl’ यस मामिलामा सम्पूर्ण क्षेत्रमा धारा १४४ लगाइएको हुनाले, न्यायमूर्ति जय सेनगुप्ताले निषेधाज्ञाको अधिसूचना खारेज गर्ने निर्णय गरे। यसैबीच अदालतले सन्देशखालीमा थप सशस्त्र पुलिस तैनाथ गर्न आदेश दिएको छ। अब निषेधाज्ञा खारेज भएपछि प्रदेश भाजपाका नेताहरू बिना बाधा सन्देशखाली जान सक्नेछन्। सोमबार पश्चिम बंगाल विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीको नेतृत्वमा भाजपा टोली सन्देशखालीतर्फ प्रस्थान गर्दा पुलिसले ग्रेटर कोलकातामा रोकेको थियो। आदेश जारी गर्दै न्यायाधीश सेनगुप्ताले सन्देशखालीमा जे भइरहेको छ त्यसलाई हल्का रूपमा लिन नहुने पनि बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement