खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन वन विभागले आज पानीघट्टा हाई स्कूल परिसरमा वन महोत्सव २०२२ कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा उपस्थित जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाले आफ्नो सम्बोधनमा वन जंगल मासिएको कारण पनि आजकल प्राकृतिक आपदाहरु बढ्दै गएको छ भन्दै हाम्रो पहाड अनि तराईको धनहरुमध्ये वन पनि एउटा हो र भोलिको सुरक्षित पहाड अनि तराईको निम्ति आज नै वनको संरक्षण गरौं भनी बताएका छन्।
उनले पानीघट्टा समष्टिले २००७ देखि धेरै संघर्ष गरेको छ तर आफूले चाहेको जीवन अनि विकास देख्नु पाएको छैन भन्दै २००७ देखि नै उनीहरू मसंग उभिएका छन् अनि म यो समष्टिलाई कहिले बिर्सने छैन भनी बताए। थापाले अब हाम्रो पालो हो र हाम्रो सोचलाई ठीक ठाउँमा पुर्याउनु सही काम गर्नेछौं भन्दै यो ठाउँमा कमान राम्ररी चलेको छैन, खोलाबाट ढुंगासम्म उठाउनु पाउँदैन, यी सबैमाथि काम गर्नु छ। यहाँको स्कूलको नवौं अनि दशौं श्रेणीलाई सरकारी एफिलिएसन् गराउनेछौं भनी बताए।

जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले सरकारबाट आएको रकमलाई सदुपयोग गर्नुपर्छ भन्दै जनतालाई नै अघि राखेर काम गर्ने वचन दिँदै यसपाली जनताले परिवर्तनको सोचलाई लिएर नै भोट दिएका हुन्। तपाईहरुको भोटको कारणले नै आज म यहाँ उभिएर बोल्नु पाउँदैछु। हामी कुर्सीमा बस्नु, तपाईंको कारण हो। अब जनताको निम्ति दिन रात गरेर काम गर्नु पर्छ। हामी जनताको आवाज बन्नु पर्छ। तपाईंहरूको आवाज हुँ म। जनतालाई अघि राखेर नै म काम गर्नेछु भनी बताए। कार्यक्रममा जीटीए प्रमुख कार्यपाल अनित थापा, मुख्य सचिव एंव दार्जिलिङ जिल्ला अधिकारी एस पुनमबल्लाम, ईडी- वन विभाग तपश कुमार बाग्छि,जीटीए सभा अध्यक्ष अन्जुल चौहान, उपाध्यक्ष राजेश चौहान, सभासद परेश तिर्कि, सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव तथा जीटीए सल्लाहकार अमर लामा, मिरिक नगरपलिकाका अध्यक्ष एलबी राईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम समय वृक्षका बिरुवाहरू पनि विद्यार्थीलाई रोप्नको निम्ति वितरण गरियो भने प्रमुख कार्यपाल साथै अन्यले वृक्ष रोपन पनि गरेका छन्।










