काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरूको चंगुलबाट फुत्किएका हामी दलहरुको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन्। मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले रानीतिक रंगमञ्चमा ल्याएका दलहरूले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए। उनले भने, ‘सात राजनीतिक दलहरूलाई त्यतिबेलाको निरंकुश र सामन्ति राजाहरूको चंगुलबाट फुत्काउन सक्ने र उनीहरुलाई राजनीतिकको रंगमञ्चमा ल्याउनसक्ने शक्ति माओवादी हो। अहिले हामीले कहाँ कहाँ कमजोरी गर्यौं, अलि बढि नै हेपाई खाइरहेका छौं। अहिले माओवादी आन्दोलनलाई माओवादीको नेतृत्वलाई, एजेण्डालाई, माओवादीले गरेको त्याग र बलिदानलाई अपमान गर्ने कोशिश तिनै दलहरूले गरिरहेका छन्।’
माओवादी केन्द्रको दुरगामी इतिहास र परिवर्तनको पक्षमा बलिदान दिएको सम्मानका लागि माओवादीहरू एक ठाउँमा उभिन ढिला भइसकेको उनको भनाइ थियो। उनले भने, ‘देशभरिका कार्यकर्तालाई हाम्रो दुरगामी इतिहास र परिवर्तनका पक्षमा जाग्न अपिल गर्दछु। मधेशी र दलित महिलाहरूले जसले सबैभन्दा बढि यो परिवर्तनका लागि बलिदान दिनुभएको छ। हामीले गरेको आन्दोलनमा शहीद नभएको कुनै जाति छैन। सबैको अस्तित्वलाई सम्मन गरौं। यसको मौलिकता र महानता नै यही होl’ संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने जोसुकैको प्रतिवाद गर्नुपर्ने उनले बताए। मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई लक्षित गर्दै उनले भने, ‘हामी यो प्रज्ञा प्रतिष्ठानको भवनमा ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भलौटेहरूले बाहिर संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको कार्यक्रम गर्दैछन्। हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन्। हामी सखाप भएनौं। जसरी अहिले हामीलाई आरोपित बनाउने खोज्ने दुश्साहस भएको छ। यो क्रान्तिकारी इतिहासलाई अपमान गर्न नदिऔं।’ माओवादी जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरूलाई ढिला नगरी एउटै मोर्चा र एउटै केन्द्रमा आवद्ध हुन उनले अपिल गरे।