सपनाका सौदागर

Sapana-ka-Saudagar

सपना सबैले देख्छन्, म पटक्कै सपना देख्दै देख्दिनँ भन्ने व्यक्ति विरलै पाइएला। चाहे निदाएको अवस्थामा होस् वा जागो रहेको अवस्थामा होस् कुनै न कुनै सपना अवश्यै देख्छन्। यो त भयो व्यक्तिगत सपनाको कुरा। यहाँ चर्चा छ सपना देखाउनेहरूको, जसले वाकपटुताको कौशलद्वारा घुमाउरो भाषा प्रयोग गरेर लोभलाग्दा थुप्रै प्रलोभनहरू देखाउँछन्, थुप्रै वाचाहरू गर्छन्, सुनौलो भविश्यको सपना देखाउँछन्। यस्ता धेरै आउँछन् जसले आफ्नो फाइदाका लागि जनताको सपनाको व्यापार गर्दछन्। यस्ता सपना देखाउनेको बारेमा चर्चा गर्दा अघि आउँछ राजनैतिक नेता।

     राजनीति भनेको समाजको सङ्गठनात्मक शक्ति, समाजको संरचना, समृद्धशाली समाज निर्माणको लागि अग्रगामी विकासको मार्गमा लैजाने रथ, सुशासन र सामाजिक न्यायको प्रवाह हो। राजनीति नयाँ, सकारात्मक र उन्नत  भविष्यतर्फ प्रेरित गर्ने माध्यम हो। स्वच्छ परिष्कृत राजनीतिले समाजमा सकारात्मक परिवर्तन चाहनेहरूलाई प्रेरणा दिने कार्य गर्दछ। राजनीति सकारात्मक रुपमा  सामाजिक  परिवर्तनको उचाइमा पुग्ने माध्यम हो, जहाँ मानिसहरूले बलियो र सक्षम समाज निर्माण गर्नसक्छन्। राजनीतिले जनतालाई एकजुट हुन अनि सामाजिक, आर्थिक र राजनैतिक समस्याहरूको समाधान खोज्न प्रेरित गर्नसक्छ, जसले गर्दा बलियो र आत्मनिर्भर समाज निर्माण हुन्छ। राजनीतिले सामाजिक, आर्थिक र  राजनैतिक सुधार गर्नसक्छ, जसले समृद्ध समाज साथै समृद्ध राष्ट्रको दिशामा सहयोग गर्दछ।

राजनीतिमा सपनाका सौदागरले जनताको भावनालाई आफ्नो कार्यस्थल बनाउँछन्, अनि त्यही भावनासित जोडिएका मुद्दाहरूलाई ब्राण्ड बनाएर मार्केटिङ गर्छन्

   तर सत्य यस्तो छ, राजनीतिमा सपनाका सौदागरको प्रभाव सशक्त छ, जसले जनतालाई भ्रममा पार्छन्। राजनीतिको घुमाउरो भाशा अर्थात जगलरी भाषा प्रयोग गरेर प्रायः जनतालाई सुनौलो भविष्यको चित्र देखाउँछन्, तर उसको राजनैतिक उद्देश वास्तविकता पछाडि लुकेको हुन्छ। उनीहरूको बहसले मानिसहरूलाई भ्रमजालमा पारेर वास्तविक मुद्दाहरूबाट ओझेलमा पार्छन्। वर्तमान समयको राजनीतिमा यस्तै सपनाका सौदागरको वर्चस्व बनेको छ। राजनीतिमा सपनाका सौदागरले जनताको भावनालाई आफ्नो कार्यस्थल बनाउँछन्, अनि त्यही भावनासित जोडिएका मुद्दाहरूलाई ब्राण्ड बनाएर मार्केटिङ गर्छन्। सबैभन्दा घातक हो विभाजनको रणनीति, यसलाई अप्रत्यक्ष रूपमा प्रयोग गरेर ‘डिभाड एण्ड रूल’ अर्थात ‘विभाजन गर अनि शासन गर’। सपनाका सौदागरले किसिम किसिमको सहुलियत र प्रलोभनद्वारा धर्म, जात र क्षेत्रका आधारमा समाजलाई विभाजन गर्ने प्रयास गर्छन्, जसले एकता र अखण्डताको भावनाको बदलीमा विभाजन निम्त्याउँछ। सुनौलो भविष्यको सपना देखाएर वास्तविकता लुकाएर झूटो वाचा, संकल्पको सहारा लिने गर्छन्, जसका कारण जनता दिग्भ्रमित हुन्छन्, अन्योलमा पर्छन्। यी सबै कारणले राजनीतिक क्षेत्रमा सपनाको सौदागरले जनतालाई भ्रममा पार्नसक्ने, र त्यसले निर्णय गर्ने क्षमतामा असर पार्ने प्रष्ट हुन्छ।

    राजनीतिमा सपनाका सौदागरले मानिसहरूलाई बहकाउन सक्छन्। यस्ता नेताहरूले प्रायः आफ्ना उत्कृष्ट गुणहरू र कार्यषैलीहरू देखाउँछन्, तर यो सामान्यतया उनीहरूको कार्यहरूसँग मेल खाँदैन। हिजोआज सबैभन्दा बढी राजनीतिमा नेताहरूले सामाजिक सञ्जाल प्रयोग गर्छन्। सामाजिक सञ्जालको प्रयोग पनि एउटा महत्त्वपूर्ण कारण हो, जसले मानिसहरूलाई भ्रमजालमा लपेट्ने गर्दछ। नेताहरूले आफ्ना विचारहरू र सपनाहरू प्रचार गर्न सोशल मिडिया प्रयोग गर्छन्, तर यसमा कयौं आशावादी सपनाहरू प्रस्तुत गरिएको हुँदा मानिसहरूलाई प्रायः बहकाउने कार्य मात्र हुन्छ। राजनीतिमा सपना देखाउने नेता विकासशील समाजतर्फ प्रेरित गर्न एक उत्तम माध्यम हुनसक्छ, तर यदि यसलाई दुरुपयोग गरियो भने, यो मानिसहरूलाई भ्रमित गर्न सक्षम हुनसक्छ। सर्वोच्च अखण्डता, संवैधानिकता र सार्वजनिक हितप्रति साँचो प्रतिबद्धताबिना सपनाका सौदागरले जनताको विश्वासलाई कम गर्नसक्छ।

   पाँच वर्षमा आउने चुनाव एउटा इमान्दार, कार्यशील, जनताको अघि गरिएका वाचाहरू पूरा  गर्ने जनप्रतिनिधी चुन्ने  माध्यम  हो। यही  माध्यमबाट सत्ता सम्हाल्ने जनताको सरकार गठन हुन्छ। चुनावको बेला भोट माग्दा जनताका अघि गरिएका वाचा र सङ्कल्प पूरा गर्न नेता र उनको दल पछि पर्छन्। चुनाव जितेपछि कतिपय नेता जनताको अघि देखिँदैनन्, केवल आफ्नो पार्टीका कार्यकताहरूका साथमा सोषल मिडिया बढी देखिन्छन्। चुनावको बजारमा दृढ़ विश्वासका साथ जनताका अघि सङ्कल्प गरेर सपनाका सौदागर चुनाव प्रक्रियालाई बहकाउने माध्यम बन्छन्।

    सपनाका सौदागरले चुनाव प्रक्रियामा वाचा र सङ्कल्पको खेल खेल्छन्। राजनीतिज्ञहरूले प्रायः वाचाहरू गर्छन् जुन निश्चित रूपमा राख्न सकिँदैन, र यसले वास्तविक मुद्दाहरूप्रति मानिसहरूको अविश्वास बढाउँछ। राजनैतिक सपनाका सौदागर प्रायः भ्रामक भविष्यसँग सम्बन्धित हुन्छन्। उनीहरूले वास्तविकता लुकाउन सक्छन्, र मानिसहरूलाई आफ्नो सपना कायम राख्न भ्रमित पार्न सक्छन्। जनताको आकाङ्क्षा, समस्या र सपनाहरूलाई पूरा गर्ने वाचा गर्दै चुनावको बजारमा मुद्दाको मार्केटिङ गर्छन्। तर, भोट जितेपछि चुनावको बजारमा गरिएका वाचा र सङ्कल्पहरू कति पूरा हुन्छ त्यो जनता स्वंयले बुझ्न सक्छन्। पाँच वर्षको कार्यकाल सपनाहरू र वाचाहरू पूरा गर्ने, पार्टीको साङ्ठनिक कार्य, घरि एउटाबाट अर्को पार्टी, अर्को पार्टीबाट अर्कोमा, विपक्षीसित तर्कातर्कीका साथै यस्तै वकालतीमा नै समाप्त हुन्छ। फेरि अर्को चुनाव आउँछ, सपनाका सौदागर आउँछन् अनि मुद्दा उही हुन्छ समस्या समाधान र सपना पूरा गर्ने। यसैले जनताले पहिचान गर्नुपर्ने समय हो सपनाका सौदागर, असल नेता र असल राजनैतिक दल।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement