सिलगढी: एसटीएफ टीमले एनजेपी स्टेशनमा विशेष अभियान चलाएर लाखौँ रुपियाँको हेरोइन सहित साधना हालदार (५५) नामकाे एउटी महिलालाई पक्राउ गरी आज जलपाईगढी अदालतमा पेश गर्यो। तिनी मुर्शिदाबाद निवासी हुन्। गोप्य सूचनाको आधारमा एसटीएफ टीमले हिजो साँझ एनजेपी रेलवे स्टेशनमा अभियान चलाउँदा सन्दिग्ध एउटी महिलासित सोधखोज गरेपछि छानबीन गर्दा तिनको ब्यागबाट हेरोइन उद्धार भएको बताइएको छ। उद्धार गरेको हेरोइनको ओजन ५६६ ग्राम रहेको छ भने यसको अनुमानित बजार मूल्य १५ लाख रुपियाँ तोकेको छ।

उक्त महिलाले ट्रेनमार्फत् असमबाट हेरोइन लिएर एनजेपी रेलवे स्टेशनमा आइपुगेपछि मुर्शिदाबाद जानको लागि अर्को ट्रेनको प्रतीक्षा गरिरहेकी थिइन्। एसटीएफले आरोपी महिलाविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि जीआरपीलाई सुम्पिदिएको छ।