गान्तोक: सिटिजन एक्सन पार्टी-सिक्किमको पाकिम जिल्ला अन्तर्गत पश्चिम पाण्डाम निर्वाचण क्षेत्रको जित्लाङमा एक समष्टि स्तरीय सभा पार्टी अध्यक्ष एलपी काफ्लेको अध्यक्षतामा सम्पन्न भयो।
उक्त सभामा समष्टि अध्यक्ष बोधन शर्मा, वरिष्ठ नेता भरत बस्नेत, बीएम रामुदामु, डीबी चौहान औ अन्य विभिन्न नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।

उक्त सभामा अवकाशप्राप्त डाइरेक्टर (पशुपालन बिभाग) डाक्टर मदन शिव शंकर सिटिजन एक्सन पार्टी सिक्किममा सामेल भए। डा. शंकर सिक्किमका एक वरिष्ठ समाजसेवी औ स्पष्टवादी नेता रहेको बताइएको छ।
आजको सभामा पश्चिम पाण्डाम निर्वाचण क्षेत्र र पाकिम जिल्लामा पार्टीको गतिविधि औ क्रियाकलाप सन्दर्भ चर्चा परिचर्चा भयो। पार्टीका विभिन्न वक्ताले सुधारको पक्षधर कुरा राखे। पार्टी अध्यक्ष काफ्लेले डा. शंकरलाई विधिवत पार्टीमा सामेल गराए। डा. शंकरसंग अन्य समेत पार्टीमा सामेल भएको दाबी गरिएको छ। डा. शंकरले वर्तमान परिवेशमा सिक्किमको भविष्यको निम्ति दह्रिलो पार्टी सिटिजन एक्सन पार्टी बताउँदै आफू इमानदारपूर्वक यस पार्टीको हितमा काम गर्ने वचन दिएको विज्ञप्तिमा उल्लेख छ।